स्थायी राजधानी तोक्न सहमति खोजिँदै : मुख्यमन्त्री पौडेल
वि.सं.२०७५ कात्तिक २७ मंगलवार ०१:५२
shares

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रमुख राजनीतिक दलसँगको परामर्श र सहमतिमा हेटौंडालाई प्रदेशको स्थायी राजधानी तोक्ने प्रयासमा सरकार लागिपरेको बताएका छन् ।
राष्ट्रिय समाचार समिति (रासस)सँग सोमबार कुराकानी गर्दै उनले भने, ‘प्रदेशको स्थायी राजधानी तोक्ने विषयमा सहमति हुने वित्तिकै प्रदेशसभाको नियमित बैठक सञ्चालन हुनेछ ।’
मुख्यमन्त्री पौडेलले प्रदेश अन्तर्गत १३ जिल्लाका ११९ स्थानीय तहलाई समेट्ने गरी राष्ट्रिय गौरवका आयोजना सञ्चालन गर्ने गृहकार्य भइरहेको उल्लेख गर्दै जिल्लाको विकास योजना कार्यान्वयन गर्न सरकारी अनुदान उपलब्ध गराइसकेको जानकारी दिए ।
सरकारी सेवा प्रवाहलाई अझ बढी व्यवस्थित, पारदर्शी र जनमुखी बनाउने कार्यमा सरकार लागिपरेको उनको भनाई छ । ‘जनतालाई केन्द्रविन्दुमा राखेर सार्वजनिक सेवालाई थप प्रभावकारी बनाई कार्यान्वयन गर्न सरकारले विकाससँग सम्बन्धित कार्यालय प्रमुखहरुलाई लिखित निर्देशन पठाइसकेको छ,’ मुख्यमन्त्री पौडेलले भने ।
रासस






















