गृहपृष्ठ अदालतमा सूचना प्रविधिको प्रयोगले दुईतर्फी फाइदा
अदालतमा सूचना प्रविधिको प्रयोगले दुईतर्फी फाइदा
सूचना प्रविधिको प्रयोग हुन थालेपछि अदालतको काम कारबाही र सेवा प्रवाह फेरिएको छ । इन्टरनेट प्रविधिको प्रयोगले झन्झटिलो कामकाजी प्रकृया अन्त्य भएकाले अदालतको कामकाजमा सुधार आएको हो ।
सूचना प्रविधिकै कारण कारण अदालती सेवा छिटो, छरितो, पारदर्शी बन्दै गएको छ । सूचना प्रविधिको क्षेत्रमा भएको विकास र विस्तारसँगै विरानगरमा रहेका उच्च र जिल्ला अदालतले यसको प्रयोग बढाएका छन् । यी अदालतहरुले अनलाइनबाट म्याद तामेली गर्ने र तारेख लिने गरेका छन् । जसका कारण अदालती कामकाजमा छिटोछरितो र पारदर्शीता वृद्धि भएको छ ।
वि.सं. २०६७ बाट सर्वोच्च अदालतले इन्टरनेटमार्फत सेवा प्र्रवाह गर्न थालेको थियो । हाल प्रदेश र जिल्लामा रहेका उच्च र जिल्ला अदालतमा पनि इन्टरनेट प्रयोगको विस्तारसँगै अदालतको कामकाज र सेवा प्रवाहमा दु्रत रुपले सुधार आउन थालेको उच्च अदालतका रजिष्ट्रार नारायणप्रसाद रेग्मीले जानकारी दिए ।
‘अदालतले सञ्चालन गरेको आधिकारीक बेवसाईट ‘सुप्रिमकोर्ट डट जीओभी डट एनपी’ मा गएर जो कोहीले चाहेको जानकारी सहजै लिन पाइन्छ । उक्त वेबसाइट प्रयोग गरेर दैनिक र साप्ताहिक पेशी सूची हेर्न, आदेश र फैसलाको जानकारी लिन र पूर्ण पाठ हेर्ने सकिनेछ,’ उनले भने । आफ्नो इन्टरनेट र अनलाइन सेवालाई प्रभावकारी बनाउन अदालतले सबै फाँटमा दक्ष प्राविधिकको दरबन्दी व्यवस्था गरेको छ ।
सबै इजलास अगाडि वा परिसरमा ‘डिस्प्ले मनिटर’ राखेर मुद्दाको अवस्थाबारे जानकारी गराउन थालेको छ । जसका लागि अदालत परिसरमा ४ वटा ‘डिस्प्ले मनिटर’ जडान गरिएको छ । राजिष्ट्रार रेग्मीले इन्टरनेट सेवा विस्तार भएपछि सबैले घर वा कार्यालयमा बसीबसी हातमा रहेको मोवाइल वा कमप्युटरमार्फत फैसालको बारेमा सहजै रुपमा जानकारी लिने गरेका जानकारी दिए ।

अनलाईनबाटै म्याद तामेली र तारेख
उच्च अदालत विराटनगरका अनुसार अदालती सेवाका लागि अहिले घरमा बसी सेवाग्राहीले अनलाइनबाटै म्याद तामेली गर्न र तारेख लिन पाउने छन् ।
त्यसका लागि पहिले मुद्दा दर्ता भएको अदालतमा आफ्नो फोटोसहितको बयोडाटा भर्नु पर्दछ । बायोडाटा भरिसकेपछि सेवाग्राहीले सम्बन्धित जिल्ला अदालतमा निवेदन दिएपछि अनलाइनबाटै तारेख र म्याद तामेली हुन्छ । यो सेवा देशका सबै तहका अदालतमा सुचारु भइसकेको छ ।
हाल उच्च अदालत बिराटनगरमा मात्र हप्तामा ६० देखि ७० जनाले अनलाईबाटै म्याद तामेली गर्ने र तारेख लिने काम गरिरहेका उच्च अदालतका अभिलेख फाँटका नायव सुब्बा ओमराज सुवेदीले जानकारी दिए । उनले इनटरनेटको प्रयोगबाट अदालती सेवाबारे जानकारी विस्तार हुँदै गएपछि त्यो सँख्या अझै बढ्दै गएको जानकारी दिए ।
अदालतले मुद्दाको जानकारी लिन आदेश र फैसला हेर्न सर्बसाधारणका लागि निःशुल्क वेबपेज उपलव्ध गराएको छ । तर, अनलाइनबाट म्याद तामेली गर्न र तारेख लिन चाहीँ आन्तरिक सफ्टवेयर प्रयोग गर्ने गरेको छ । अदालतमा वकपत्र, मुद्दाको दर्ता र सुनवाइ लगायत सेवाका लागि भने सेवाग्राही अदालतमै पुग्नु पर्नेछ ।
कानुनी विषय अध्ययन गर्ने, दस्ताबेजहरु खोज्ने पढ्ने र जाहेरी, निवेदन र फिरादपत्र आदि विभिन्न लिखतहरु तयार पार्न पनि सहयोग पुग्न थालेको छ ।
अधिवक्ता पुरशोत्तम नेपालले अदालतको वेवसाइटमा खोलेर कुन तहको कुन अदालतमा कहिले मुद्दाको पेशी, इजलासबाट भएको फैसाला लगायतका जानकारी लिन पनि सहज भएको बताए । अदालतले इन्टरनेट सेवा विस्तार गर्दै गएसँगै कानुन व्यवसायी र सेवा ग्राहीहरुले प्रयोग गर्ने क्रम पनि बढदै गएको उनले बताए ।
अधिवक्ता नेपालका अनुसार पहिले मुद्दामा संलग्न कानुन व्यवसायी र वादी प्रतिवादीको मुद्दाको सुनवाइ भएको मुद्दाको आदेश वा फैसला के भयो भनेर अदालतमै कुरेर जानकारी लिने परिपाटी पनि अहिले अन्त्य भएको छ । इन्टरनेट सेवा विस्तार भएपछि सबैले घर वा कार्यालयमा बसीबसी हातमा रहेको मोवाइल वा कमप्युटर मार्फत जानकारी लिने गरेका छन् ।
प्रकाशित समय : २२:२१ बजे


















