प्रस्तावित बीमा ऐनका केही व्यवस्थाप्रति बीमा व्यवसायीको आपत्ती
वि.सं.२०७५ मंसिर १७ सोमवार २३:१६
shares

सरकारले ‘बीमा ऐन २०७५’ मा नेपालीले प्रत्यक्ष रुपमा विदेशमा बीमा गर्न पाउने व्यवस्था गर्न लागेकोप्रति आपत्ति जनाउँदै बीमा व्यवसायीहरुले त्यसो नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार प्रतिनिधिसभाको अर्थ समितिमा भएको छलफलमा सहभागी निर्जीवन बीमा व्यवसायी संघका पदाधिकारीले प्रस्तावित विधेयकबाट उक्त व्यवस्था खारेज गर्न माग गरेका छन् । नेपाली बीमा कम्पनीहरुले सबै खालको बीमा स्वीकार तथा व्यवस्थापन गरिरहेको भन्दै उनीहरुले विदेशमा बीमा गर्न सकिने व्यवस्था खारेज गर्न माग गरेका हुन् ।
विधेयकको दफा २४ मा नेपाली कम्पनीले स्वीकार नगर्ने वा इजाजत प्रदान नगरिएको बीमा व्यवसायको सम्बन्धमा विदेशी बीमा कम्पनीसँग कारोबार गर्न सकिने उल्लेख छ । यस्तो व्यवस्था कार्यान्वयन गरिए नेपालको बीमा व्यवसाय विदेशीको पोल्टामा जाने बीमा व्यवसायीहरुको तर्क छ ।
प्रचलित ऐनमा नेपालका कुनै पनि सम्पत्तिको बीमा स्वदेशी कम्पनीले नै गर्नुपर्ने व्यवस्था छ । जसअनुसार विदेशी कम्पनीले नेपालमा कुनै पनि प्रकारको बीमा कारोबार गर्न पाउँदैनन् । तर, प्रस्तावित बीमा ऐनमा उक्त व्यवस्था हटाएपछि बीमा व्यवसायीहरु असन्तुष्ट बनेका हुन् ।
विधेयकको दफा ३३ मा उल्लेखित बीमकले प्रत्येक बर्षको चैत महिनामा इजाजत नविकरण गर्नुपर्ने व्यवस्था पनि खारेज गर्न संघले माग गरेको छ । यस्तो व्यवस्था अव्यवहारिक भएको उनीहरुको तर्क छ ।






















