गृहपृष्ठ पत्रकारलाई श्रमको मूल्य देऊ भन्दा मिडिया मालिकलाई ज्वरो : सञ्चारमन्त्री बास्कोटा
पत्रकारलाई श्रमको मूल्य देऊ भन्दा मिडिया मालिकलाई ज्वरो : सञ्चारमन्त्री बास्कोटा
सञ्चारमन्त्री गोकुल बास्कोटाले पत्रकारलाई कानुन अनुसार पारिश्रमिक दिऊ भन्दा कतिपय सञ्चार उद्यमीलाई ज्वरो आएको बताएका छन् ।
नेपाल पत्रकार महासंघले मंगलबार सञ्चारग्राममा आयोजना गरेको ‘पत्रकारितामा श्रमको सवाल’ विषयक अन्तर्क्रियामा मन्त्री बास्कोटाले श्रमअनुसारको पारिश्रमिक देऊ भन्दा केही सञ्चारमाध्यमले आफ्नो राजीनामा माग्न भ्याएको समेत बताए । उनले भने ‘कानून बमोजिम पारिश्रमिक देऊ भन्दा प्रेस स्वतन्त्रता हनन हुँदैन, पसिनाको मूल्य तिर्नुपर्दा शोषणका पक्षपातिहरुलाई १०५ डिग्रीको ज्वरो आउने रहेछ ।’
मन्त्रिपरिषदले गरेको निर्णय कार्यन्वयन गराउन दृढ रहेको मन्त्री बास्कोटाको भनाइ थियो । श्रमको शोषण गर्नेहरुसँग आफूले सम्झौता नगर्ने भन्दै पत्रकार र पत्रकार महासंघलाई कित्ता स्पष्ट पार्न उनको आग्रह छ ।
सरकार मिडिया मालिक र श्रमजीवी पत्रकार दुवैको हितमा काम खोजेको बास्कोटाले बताए । उनले भने ‘सञ्चार उद्यमीकै हितका लागि क्लिन फिड लागू गर्दैछौं, विज्ञापनसम्बन्धी विधेयक संसदमा छ । सबैलाई समेट्न मिडिया काउन्सिल बन्दैछ यि विषयहरुले सञ्चारकर्मी र उद्यमी सबैलाई हित गर्नेछ ।’
प्रकाशित समय : १५:३७ बजे



















