गृहपृष्ठ छैटौं दिन पनि सरकारी अस्पतालको सेवा ठप्प, सरकार उदासीन
छैटौं दिन पनि सरकारी अस्पतालको सेवा ठप्प, सरकार उदासीन
सरकारी चिकित्सकले समायोजन प्रक्रियामा असन्तुष्टि जनाउँदै आन्दोलन गरेको एक साता पुग्न लाग्दा पनि वार्ताका लागि सरकारले पहल गरेको छैन । अस्पतालमा आकस्मिक बाहेकका अन्य सेवा ठप्प हुँदा बिरामीको बिचल्ली भएको छ । महंगो शूल्क तिर्न सक्ने बिरामी निजीमा पुगेका छन् भने कमजोर आर्थिक अवस्था भएका बिरामीको कुनै उपाय नै छैन । छैटौं दिनसम्म पनि आन्दोलन रोक्न सरकारले भने यथोचित पहल गरेको छैन ।
समायोजनको विषयमा असन्तुष्टि जनाउँदै करिब ४ महिनादेखि आन्दोनरत सरकारी चिकित्सकले आफुहरुको माग पूरा नभए सामूहिक राजीनामा दिने चेतावनी दिदैं आएका छन् । यता सरकार भने सरकारी चिकित्सकले राजीनामा बुझाए पनि खाली ठाउँ भर्न समस्या नहुने अडानमा रहेपछि वार्ता र संवाद भाडिएको हो । अति संवेदनशील क्षेत्रमा उत्पन्न समस्या उत्कर्षतर्फ लैजानु भन्दा पनि समाधानमा लाग्नुपर्ने अवस्थामा दुई पक्ष एक अर्काेविरुद्ध आरोपप्रत्यारोपमा उत्रिनुले समस्था थप जटिल भएको छ ।
सरकारी अस्पतालमा जागिर खाएका डाक्टरहरुले त्यहाँ काम नगरी निजी क्लिनिक र अस्पतालमा काम गर्ने गरेकाले त्यो छाड्न नचाहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको आरोप छ । मन्त्री पण्डित भन्छन्, ‘उहाँहरु अनावश्यक माग तेर्साएर आन्दोलनमा हुनुहुन्छ तर पनि उहाँहरुका मागका विषय संसदमा छलफल भइरहेको छ, यसैले उहाँहरुले आन्दोलन स्थगित गरेर काममा फर्कदा राम्रो । ’
सेवाका लागि प्रदेश वा स्थानीय तहमा गए वृत्तिविकास रोकिने चिकित्सकहरुको गम्भीर चिन्तामा मन्त्री पण्डितले मन्त्रालयसँगको समन्वयमा समायोजन भएकाले द्विविधा नलिन आग्रह गरेका छन् ।
उता, सरकारी चिकित्सक संघ गोदानले भने सरकारले आफूहरुको माग पूरा नभए सामूहिक राजीनामा दिन बाध्य हुने अडान छाडेको छैन । गोदानका अध्यक्ष दीपेन्द्र पाण्डे भन्छन्, ‘समायोजन प्रक्रियामा सरकारले मिलाएर लैजान सके सेवाग्राही, हामी चिकित्सक कोही पनि मारमा पर्दैनन्, यसलाई सरकारले गम्भीर रुपमा लिनुपर्छ । ’
यता चिकित्सकहरु सेवा नै ठप्प पारेर आन्दोलनमा उत्रदा समेत सरकारी पहल शून्य हुनु दुखद पाटो भएको विज्ञहरुको तर्क छ । प्रदेश र स्थानीय तहमा समायोजन हुँदा आफ्नो वृत्तिविकास रोकिने चिकित्सकको चिन्ता जायज भएपनि सेवा नै ठप्प पारेर आन्दोलनको बाटो रोज्नु न्यायसँगत छैन ।
सरकारी अस्पताल ठप्प हुँदा टाढा–टाढादेखि अस्पलातसम्म पुगेका बिरामीको बिचल्ली भएको छ । तराइ क्षेत्रका बिरामीलाई उपचारका लागि भारतीय अस्पतालमा पुग्नुपर्ने बाध्यता भएको छ । सरकारी सेवामा १ हजार ४ सय भन्दाबढी चिकित्सक कार्यरत छन् । कर्मचारी समायोजन ऐन २०७५ अन्यायपूर्ण भएको भन्दै सरकारी चिकित्सक आन्दोलनमा उत्रिएका हुन् ।
प्रकाशित समय : १६:१५ बजे


















