गृहपृष्ठ सरकारसँग सत्य निरुपण आयोगको माग– पदाधिकारी नियुक्तिमा ढिला नगरिदेऊ

सरकारसँग सत्य निरुपण आयोगको माग– पदाधिकारी नियुक्तिमा ढिला नगरिदेऊ

सरकारसँग सत्य निरुपण आयोगको माग– पदाधिकारी नियुक्तिमा ढिला नगरिदेऊ

सत्य निरुपण तथा मेलमिलाप आयोगले पदाधिकारी नियुक्तिमा ढिला नगरिदिन सरकारसँग आग्रह गरेको छ । आयोगका सदस्य डाक्टर माधवी भट्टले आयोगमा नयाँ पदाधिकारी नियुक्ति नगरे धेरै काम प्रभावित हुने बताईन् ।

शुक्रबार आयोग परिसरमा पत्रकार सम्मेलन गर्दै उनले आयोग पदाधिकारी विहिन हुदा संक्रमणकालिन न्यायका संयन्त्रहरु नै संक्रमणमा परेको बताईन् । आयोगमा रहेका पीडीतको उजुरीका फाईलको सुरक्षा र गोपनियताको प्रश्न बारम्बार उठिरहेका बेला आयोग पदाधिकारी बिहीनको अवस्थामा पुगेको भन्दै उनले त्यसतर्फ गम्भीर बन्न आग्रह गरिन् । उनले पदाधिकारी नियुक्ति गर्दा योग्य, दक्ष र न्याय निरुपणको निर्णयमा खुट्टा नकमाउने व्यक्तित्व चयन गर्न पनि आग्रह गरे । पदाधिकारी रिक्त भए लगत्तै आयोगमा दर्ता भएका ६२ हजार ९ सय ७० उजुरीको सुरक्षा र गोपनियतामा प्रश्न उठ्न सक्ने भन्दै उनले आयोगलाई लामो समय सम्म पदाधिकारी बिहीन नबनाउन आग्रह गरिन् ।

आयोग सदस्य भट्टले आयोगको केन्द्रीय कार्यालयमा सुरक्षा व्यवस्था राम्रो भए पनि प्रदेश कार्यालयहरुमा संयोजकलगायत अनुसन्धान अधिकारीहरुको समयावधि नथपिएकाले ती कार्यालयहरु निष्कृय भएको तथा प्रदेशहरुमा पठाईएका उजुरीहरुको सुरक्षा चुनौतिपूर्ण रहेको बताए । उनले भनिन् ‘प्रदेशमा पठाईएका उजुरीहरु सबै केन्द्रीय कार्यालयमा फिर्ता ल्याईएको छैन । त्यसैले यी फाईलहरुलाई सुरक्षित गर्नेतर्फ सचिवालयलाई ध्यानाकर्षण गराउँदछु ।’

नेपाल सरकारको २०७१ माघ २७ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार राज्यपक्ष र तत्कालीन विद्रोही नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बीच भएको शसस्त्र द्धन्द्धको क्रममा भएका मानवअधिकारको गम्भीर उल्लघनका घटनाको सत्य तथ्य छानविन गरी कानुनी कारबाहीको सिफारिसका लागि सत्य निरुपण तथा मेलमिलाप आयोग गठन भएको थियो । आयोगले आफ्नो काम सम्पन्न गर्न नपाउँदै यसका पदाधिकारीको समायावधि सकिएको हो ।

वर्तमान पदाधिकारीहरुको समायावधि चैत मसान्तसम्म कायम रहने गरी सरकारले गत माघ २५ गते आयोगको ऐन संशोधन गरेपछि आयोगका पदाधिकारी कार्यसम्पन्न बिना नै पदमुक्त भएका हुन् । ऐन संशोधन भएलगत्तै आयोगका अध्यक्ष सूर्यकिरण गुरुङले राजीनामा दिएका थिए । त्यसयता आयोग पूर्ण रुपमा निष्कृय थियो । विहीबारको पत्रकार सम्मेलनमा आयोगका अन्य सदस्य उपस्थित थिएनन् ।

सरकारले भने सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता व्यक्तिको छानविन आयोगका पदाधिकारी नियुक्तिको सिफारिसका लागि पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा सिफारिस समिति गठन गरेको छ ।

प्रकाशित समय : १९:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु