गृहपृष्ठ भोटेकोशी बाढीपीडितका लागि एनएमबी बैंकको ३ करोड ५१ लाख सहयोग
भोटेकोशी बाढीपीडितका लागि एनएमबी बैंकको ३ करोड ५१ लाख सहयोग
काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि एनएमबी बैंकले ३ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंकले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा हुने गरी अर्थमन्त्रीलाई चेक हस्तान्तरण गरेको हो । बैंक सञ्चालक समितिका अध्यक्षले अर्थमन्त्रीलाई चेक हस्तान्तरण गरेका हुन् ।
बैंकले आर्थिक सहयोगसँगै बाढी प्रभावित क्षेत्रका नागरिकका लागि १० लाख रुपैयाँ बराबरको राहत सामग्रीसमेत उपलब्ध गराएको छ ।
अचानक आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । बाढीका कारण जनधनको क्षति हुनुका साथै धेरै परिवार विस्थापित भएका छन् ।
बाढीले घर तथा अन्य भौतिक संरचनामा क्षति पुर्याउनुका साथै सडक, स्थानीय पूर्वाधार र जलविद्युत् आयोजनामा समेत असर पारेको छ । कतिपय स्थानमा सडक तथा पूर्वाधारमा क्षति पुगेपछि आवागमन र स्थानीय जनजीवन प्रभावित भएको छ ।
विपद्को समयमा प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन तथा पुनःस्थापनाका काममा सहयोग पुर्याउने उद्देश्यले बैंकले उक्त सहयोग गरेको हो ।
बैंकका अनुसार उपलब्ध गराइएको रकमबाट प्रभावितको उपचार, खाद्यान्न तथा आवास व्यवस्थापनका साथै क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र पुनःस्थापनाका काममा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
एनएमबी बैंकले विपद्का बेला प्रभावित नागरिकको साथमा उभिनु संस्थाको सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा भएको बताए । बैंकले राहत तथा पुनःस्थापनाका लागि आवश्यक सहयोगमा आफ्नो तर्फबाट योगदान जारी राख्ने प्रतिबद्धतासमेत जनाएको छ ।
प्रकाशित समय : १९:४४ बजे


















