गृहपृष्ठ सर्वदलीय संयन्त्रलाई प्रदेश र स्थानीय तहसम्म विस्तार गर्ने निर्णय
सर्वदलीय संयन्त्रलाई प्रदेश र स्थानीय तहसम्म विस्तार गर्ने निर्णय
काठमाडौं । मंगलबार बसेको सर्वदलीय बैठकले केन्द्रमा गठन गरिएको सर्वदलीय संयन्त्रलाई प्रदेश र स्थानीय तहसम्म विस्तार गर्दै लैजाने निर्णय गरेको छ ।
बैठकमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन तीनै तहका सरकारबीच समन्वय गर्ने र राजनीतिक दलहरूले आवश्यक सहयोग तथा समर्थन गर्ने विषयमा समेत छलफल भएको नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
उनका अनुसार केन्द्रमा सरकार भएजस्तै प्रदेश र स्थानीय तहमा पनि सरकार रहेकाले उद्धार तथा राहतका काममा तीनै तहका सरकारलाई समन्वयात्मक रूपमा परिचालन गर्ने निर्णय भएको हो ।
उनले भने, ‘केन्द्रमा जुन किसिमले सर्वदलीय संयन्त्र बनायौँ, त्यही किसिमको संयन्त्र तल्लो तहसम्म सम्प्रेषित गर्दै लाने निर्णय भएको छ । संविधान वा कानुनी रूपमा दिइएको विशेष अधिकार प्रयोग गरेर काम गर्ने भन्नेछ । कुनै मुचुल्काका लागि कुनै राजनीतिक दलभन्दा वडा अध्यक्ष नै चाहिन्छ, कानुनी प्रबन्ध पनि त्यही छ । त्यसैले उद्धार र राहतमा तीनै तहको सरकार समन्वय गरेर जनतालाई बढीभन्दा बढी प्रभावकारी राहत र उद्धार कार्य र संगठित प्रयास गर्ने कुरामा होस् भन्ने आजको निर्णय हो ।’
सर्वदलीय बैठकले विपद्को समयमा राजनीतिक दलहरूबीच सहकार्य र समन्वय गर्दै पीडितको उद्धार तथा राहतलाई प्राथमिकतामा राख्ने निष्कर्ष निकालेको छ ।
‘पार्टीको ब्याकअप सपोर्ट छ, यसमा कोही पार्टी अलग–अलग छैन । हामी सबैको एउटै कुरा पीडित जनताको साथमा रहनुपर्यो । उद्धार र राहतमा संलग्न हुनुपर्यो । यसमा कुनै राजनीतिकरण गर्नुपर्ने विषय नै छैन् । यो संवेदनशील विषयमा राजनीतिकरण गर्नु पनि अपराध हो,’ उनले भने ।
प्रकाशित समय : १८:१९ बजे


















