गृहपृष्ठ आज रामनवमी र चैतेदशैं, शक्तिपीठमा भक्तजनको घुइँचो
आज रामनवमी र चैतेदशैं, शक्तिपीठमा भक्तजनको घुइँचो
हिन्दू धर्मालम्बीहरुले आज रामनवमी र चैतेदशैं पर्व मनाउँदै छन् । दुई पर्वको अवसरमा शनिबार देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ ।
यो वर्ष अष्टमीलाई पूर्वाह्न र नवमीलाई अपराह्नको समय लिँदा रामनवमी र चैतेदशै एकै दिन परेको पञ्चांग निर्णायक समितिले जनाएको छ । असोज कार्तिकको दशैंलाई बडादशैंको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा चैते दशैं मनाउने प्रचलन छ । चैते दशैंमा टीका जमरा भने लगाउन चलन छैन । आम नेपालीले यसलाई सानो दशैका रुपमा अर्थाउने गर्छन् ।
आज काठमाडौंको भद्रकाली, शोभाभगवती, दक्षिणकाली, गुहेश्वरी, संकटा, नक्साल भगवतीका साथै गोरखा मनकामना, गोरखकाली, काभ्रेको पलाञ्चोक भगवती, पोखराको विन्धबासिनीलगायतका शक्तिपीठहरुमा बिहानैदेखि पूजा गर्नेको भीड छ ।
चैत्र शुक्ल नवमी पनि आजै परेकाले मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा श्रद्धा र भक्तिपूर्वक ‘रामनवमी’ पर्व मनाइन्छ । आज जनकपुरस्थित रामजानकी मन्दिरमा मेला भर्न नेपाल तथा भारतका भक्तजनको घुइँचो लागेको छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको विश्वास रहिआएको छ ।
आज व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गरी श्रीराम भगवानलाई सम्झने परम्परा छ ।
प्रकाशित समय : १४:५३ बजे


















