गृहपृष्ठ भक्तपुरको सामग्री अन्तर्राष्ट्रिय बजारमा पु-याउनुपर्छ : कार्यबाहक अध्यक्ष मल्ल
भक्तपुरको सामग्री अन्तर्राष्ट्रिय बजारमा पु-याउनुपर्छ : कार्यबाहक अध्यक्ष मल्ल
नेपाल चेम्बर अफ कमर्सका कार्यबाहक अध्यक्ष राजेन्द्र मल्लले भक्तपुरका कृषि, हस्तकला, औद्योगिक उत्पादनलगायतका वस्तुहरुलाई अन्तर्राष्ट्रिय बजारमा पु-याउनुपर्नेमा जोड दिएका छन् । भक्तपुर चेम्बर अफ कमर्सको प्रथम साधारण सभा र नवनिर्वाचित पदाधिकारीको पदस्थापना कार्यक्रममा वरिष्ठ उपाध्यक्ष एंव कार्यबाहक अध्यक्ष मल्लले भक्तपुरलाई पर्यटन, सास्कृतिकसँगै औद्योगिक एवं व्यापारिक दृष्टिले अघि बढाउन अन्तर्राष्ट्रिय बजारमा नेपाली सामग्री पुर्याउनुको विकल्प नभएको बताए ।
उनले नेपालको व्यापार घाटा बढ्दै गएकाले त्यसको निवारणका लागि औद्योगिक एवं व्यापारीलाई अघि सार्न चेम्बर लाग्नुपर्ने उल्लेख गरे । कार्यबाहक अध्यक्ष मल्लले भक्तपुरलाई पर्यटनसँगै आर्थिक समृद्धिका लागि उद्योगी व्यवसायी नै अघि बढ्नुपर्ने बताए । आर्थिक वृद्धिका लागि जलविद्युत, सूचना प्रविधि, प्रतिस्पर्धा क्षमताको वृद्धि गर्नुको विकल्प नभएको उनले औंल्याए ।
कार्यबाहक अध्यक्ष मल्लले सबै मिलेर पुँजीको लागतमा वृद्धि गरे पनि काममा ढिलासुस्ती, श्रमको समस्या, दक्ष कामदारको अभावलगायत कारणले उद्यगीले लागतभन्दा कममा उद्योग सञ्चालन गर्नुपरिरहेको भन्दै त्यसको निवारणका लागि सबै मिलेर अघि बढ्नुपर्ने धारणा राखे । समग्र रुपमा शान्ति सुरक्षा, राजनीतिक स्थायित्व, ऐन नियम कानुनमा समयानुकूल परिवर्तन, भ्रष्टाचारमुक्क्त प्रशासन र श्रमिकको स्थायित्व हुनु नै निजी क्षेत्रको प्रमुख चाहना भएको बताए ।
हालैमात्र भएको लगानी सम्मेलनबाट विदेशी लगानी भित्र्याउने र स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने नीतिको अवलम्बन हुनसके लगानीकर्ताहरुको विश्वास बढ्ने उनको भनाइ छ । ‘आर्थिक विकासका लागि औद्योगिक क्षेत्रको प्रवर्धन गर्न चेम्बर अफ कमर्स तयार छ,’ उनले भने, ‘नेपालको समग्र आर्थिक विकासका लागि निजी क्षेत्र र सहकारी क्षेत्रबीच समन्वय र सहकार्यमा सदैव तत्पर छौं ।’
निजी क्षेत्रको सशक्तीकरणबाट मात्र राष्ट्रको समग्र विकास सम्भव हुने मूलमन्त्रलाई अंगिकार गरी ६८ वर्ष अगाडि नेपाल चेम्बर अफ कमर्सको स्थापना भएको हो ।
प्रकाशित समय : १७:०६ बजे



















