global ime bank Long Banner Ad

गृहपृष्ठ रंगशाला निर्माणको प्रक्रिया सुरु गर्न आग्रह

रंगशाला निर्माणको प्रक्रिया सुरु गर्न आग्रह

रंगशाला निर्माणको प्रक्रिया सुरु गर्न आग्रह

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको प्रक्रिया सुरु गर्न सम्बन्धित संस्थालाई आग्रह गरिएको छ । रंगशाला निर्माण सहयोग समिति चितवनको बुधबार बसेको सचिवालय बैठकले धुर्मुस–सुन्तली फाउन्डेसनलाई निर्माणको प्रक्रिया सुरु गर्न आग्रह गरेको हो ।

यही जेठ १५ गते रंगशाला निर्माणका क्रममा लगाएको बार स्थानीयवासीले भत्काएपछि फाउन्डेसनले काम रोकेको छ । रंगशाला निर्माण सहयोग समितिका संयोजक जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले स्थानीयवासीसँग भएको विवादको टुंगो लागिसकेकाले फाउन्डेसनले काम अघि बढाउनुपर्ने बताए । रंगशाला  निर्माणको काम सुरु भएसँगै आर्थिक संकलनका लागि समितिले प्रक्रिया अगाडि बढाउने उनले बैठकमा जानकारी दिए ।

उक्त अवसरमा मानव अधिकार, कानुन तथा न्यायिक समितिका सभापति कृष्णभक्त पोखरेलले रंगशाला निर्माणका लागि चितवन एकताबद्ध भएको भन्दै फाउन्डेसनलाई काममा आउन आग्रह गरे । यहाँ निर्माण हुन लागेको रंगशाला महानगरको मात्रै नभएर समग्र जिल्लावासीको गौरवको आयोजना भएको भन्दै उनले सबैले मिलेर निर्माण सम्पन्न गर्न आवश्यक रहेको बताए ।

यसैगरी प्रदेश सदस्य घनश्याम दाहाल, विजय सुवेदी, कृष्ण भुर्तेललगायतले केही साना समस्या देखिए पनि अहिले वातावरण तयार भइसकेको भन्दै फाउन्डेसनलाई काममा फर्कन आग्रह गरे । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरभित्र बन्न लागेको रंगशाला देशकै गौरवको आयोजना भएकाले जिल्लावासी एक भएर लाग्नुको विकल्प नरहेको बताए । रंगशाला निर्माणका लागि वातावरण तयार भइसकेको र सुरक्षाको व्यवस्थासमेत गरिएकाले काम नरोक्न उनले आग्रह गरे ।

रत्ननगर नगरपालिका प्रमुख नारायण वन र माडी नगरपालिका प्रमुख ठाकुर ढकालले इतिहासबाट सिक्दै भविष्यमा कसरी अगाडि बढ्ने भन्ने विषयमा केन्दित हुँदै रंगशाला निर्माणको काम गर्नु आवश्यक रहेको बताए ।

भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण हुनलागेको रंगशालाका लागि जिल्लामा पाँच हजार एक सदस्यीय सहयोग समिति गठन गरिएको छ । यस्तै जिल्लाका राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, सरकारी कार्यालय प्रमुख, निजी क्षेत्रका व्यवसायी संघसंस्थाका प्रमुख एवं प्रतिनिधि रहेको ७२ सदस्यीय सचिवालय र १३ सदस्यीय आर्थिक सहयोग समिति गठन गरिएको उक्त अवसरमा जानकारी दिइएको थियो । जिल्ला समन्वय समिति वा महानगरमा यसको सचिवालय सञ्चालन गरी कामलाई तीव्रता दिने डल्लाकोटीले जानकारी दिए ।

बैठकमा उद्योगी व्यवसायीले रंगशाला निर्माणका लागि निजी क्षेत्रले गरेको लगानी पारदर्शी हुने÷नहुनेमा चिन्ता व्यक्त गर्दै निर्माणको काम सुरु गर्न आग्रह गरेका थिए । त्रिभुवन विश्वविद्यालयको नाममा रहेको जग्गामा करिब ३ अर्ब खर्च गरेर फाउन्डेसनको अगुवाइमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण प्रक्रिया अगाडि बढाइएको हो । (रासस)

प्रकाशित समय : १७:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु