गृहपृष्ठ बीवाईडीले भन्सार छलेको भन्ने समाचार गलत हुन्, कानुनी प्रक्रिया अनुसार नै गाडी भित्रिएका हुन् : साइमेक्स इंक
बीवाईडीले भन्सार छलेको भन्ने समाचार गलत हुन्, कानुनी प्रक्रिया अनुसार नै गाडी भित्रिएका हुन् : साइमेक्स इंक
काठमाडौं । बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले प्रक्रिया पूरा गरेरै गाडीहरु नेपाल भित्र्याएको स्पष्ट पारेको छ । नेपाल–चीन सीमा नाका कोरला हुँदै बीवाईडी ब्राण्डका ७७४ वटा विद्युतीय सवारीसाधन (ईभी) सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएपछि आएका समाचारहरुप्रति ध्यानाकर्षण भएको पनि कम्पनीले जनाएको छ ।
सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टले नेपाल न्यूज बैंकलाई दिएको जानकारी अनुसार विद्युतीय सवारीसाधनमा लाग्ने करको दर परिवर्तनसम्बन्धी सूचना बजेटअघि नै चुहिएको आशंकामा थप छानबिनका लागि गाडीहरू नियन्त्रणमा लिइएको जनाएका थिए । तर साइमेक्स इंक विहीबार एक विज्ञप्ति जारी गर्दै कानुनको पालना, पारदर्शिता तथा नैतिक व्यवसायिक अभ्यासप्रतिको आफूहरुको अटल प्रतिबद्धता व्यक्त गरेको छ । बुधबार राति कास्कीदेखि मुस्ताङसम्मका विभिन्न सडक खण्डमा जाँच अभियान सञ्चालन गरी सशस्त्र प्रहरीले ती सवारीसाधन नियन्त्रणमा लिएको जनाएको थियो ।
तर साइमेक्स इंकले बजेट सार्वजनिक हुनुअघि नै नेपाल भित्रिएका तथा भन्सार जाँचपास भएका विद्युतीय सवारी साधन नियन्त्रणमा लिइएको जनाउँदै त्यसपछि भएका गलत प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाल भित्र्याइएका सवारी साधन बजेटअघि नै भन्सार जाँचपास भइसकेका र त्यसबाहेक पनि २२६ वटा सवारीसाधन अहिले पनि चीनतर्फको भन्सार क्षेत्रमा आइपुगेको जनाइएको छ ।
‘साइमेक्स इंकले कुनै पनि चरणमा विशेष सुविधा, प्राथमिकता प्राप्त प्रक्रिया वा अनधिकृत भन्सार व्यवस्थाबाट लाभ लिएको छैन, न त त्यस्तो कुनै व्यवस्थाका लागि अनुरोध गरेको वा प्राप्त गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘ग्राहकबाट पहिले नै बुकिङ सुनिश्चित भइसकेका कारण ती बुकिङ पूरा गर्न तथा नेपालमा विद्युतीय सवारीसाधनको बढ्दो माग सम्बोधन गर्न यी सवारी साधन आयात गरिएका हुन् । यी सम्पूर्ण आयात कार्यहरु बीवाईडीको उत्पादन तालिका, ढुवानी उपलब्धता, नियमित व्यावसायिक योजना तथा यातायात र ढुवानी व्यवस्थानसम्बन्धी चुनौतीहरुलाई ध्यानमा राखेर सम्पन्न गरिएका हुन् । सम्पूर्ण आयात तथा भन्सार प्रक्रिया नेपालका प्रचलित कानुन तथा नियामकिय व्यवस्थाअनुसार नै सम्पन्न गरिएको हो ।’
साइमेक्स इंकले सरकारी निकायसँग समन्वय गरी कर परिवर्तनबाट बच्न खोजेको वा कुनै अनुचित लाभ लिएको भन्ने आरोप पूर्णतः निराधार, असत्य तथा कम्पनीको प्रतिष्ठामा आघात पु¥याउने खालका भएको विज्ञप्तिमा जनाएको छ । विज्ञप्तिमा सबै पक्षलाई आधिकारिक अभिलेख तथा सम्बन्धित निकायबाट तथ्य पुष्टि नगरी निष्कर्षमा नपुग्न तथा सार्वजनिक भ्रम सिर्जना गर्ने वा वैधानिकरुपमा सञ्चालन भइरहेका व्यवसायहरुको प्रतिष्ठामा अनुचित क्षति पुर्याउने खालका आरोप वा सामग्री प्रकाशन नगरिदिन पनि अनुरोध गरिएको छ ।
तर प्रहरीले करको दर हेरफेर भएको सूचना लिक भएको आशंकामा थप छानबिनका लागि सवारीसाधन नियन्त्रणमा लिइएको जनाएको छ । छानबिनबाट भन्सार प्रक्रिया, कर निर्धारण तथा बजेटअघिको आयात गतिविधिमा कुनै अनियमितता भएको पुष्टि भए सम्बन्धित व्यक्ति तथा निकायमाथि कानुनी कारबाही अघि बढाइने पनि जनाएको छ । बीवाईडीको नेपालका लागि आधिकारिक विक्रेता साइमेक्स इन्ककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले सबै कुरा विज्ञप्तिमार्फत नै स्पष्ट पारेको जनाइन् ।
प्रकाशित समय : १८:५६ बजे



















