गृहपृष्ठ मेडिकलजन्य उपकरणको नियमनहीन व्यापार
मेडिकलजन्य उपकरणको नियमनहीन व्यापार
देशभित्र मानिसको उपचारका लागि प्रयोग हुने औषधिजन्य (मेडिकल) उपकरणहरूको मूल्य निर्धारण र गुणस्तर मापनमा कुनै अनुगमन नै हुने नगरेको पाइएको छ । मेडिकल उपकरणमा नियमन प्रभावकारी नहुँदा बिमारीहरूले कम गुणस्तरीय उपकरण बढी मूल्य तिरेर किनु पर्ने बाध्यता रहेको राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ ।
बिमारीहरूको स्वास्थ्यमा गम्भीर असर पर्ने औषधीजन्य उपकरणहरूको गुणस्तर र मूल्यको अनुगमन तथा नियमन गर्ने संस्थागत व्यवस्था प्रभावकारी नहुँदा सप्लायर तथा फार्मेसीहरूले मिलेमतोमा मनोमानी मूल्य राखी आपूर्ति गर्नसक्ने भन्दै केन्द्रले यसमा सुधार गर्नका लागि सरकारलाई सुझाव दिएको छ ।
केन्द्रले मुटुमा ट्रान्सप्लान्ट गरिने भल्भ लगायतका औषधीजन्य उपकरणहरूको आधिकारिक बिक्री मूल्य निर्धारण नहुँदा मनपरि मूल्य कायम भएको ठहर गरेको छ ।
‘मुटुमा ट्रान्सप्लान्ट गरिने भल्भहरू मेडिकल र बायोलोजिकल गरी दुई प्रकारको हुने गरेको र मुटुको भल्भ लगायतका औधषीजन्य उपकरणहरूको आधिकारिक बिक्री मूल्य निर्धारण गर्ने, गुणस्तर मापन गर्ने र नियमन गर्ने कानुनी र संस्थागत प्रभावकारी छैन,’ केन्द्रले गंगालाल राष्ट्रिय हृदय केन्द्रका सन्दर्भमा परेको उजुरीपछि गरेको छानबिन प्रतिवेदनमा भनिएको छ ।
गंगालालको फार्मेसीमा २ लाख ९३ हजार ५ सयमा बेच्ने मुटुको भल्भ टिचिङ अस्पतालको मनमोहन कार्डियोलोजी भास्कुलरमा १ लाख ९ हजारमा बिक्री हुने गरेको भनी केन्द्रमा उजुरी परेको छ ।
सतर्कता केन्द्रले गरेको छानबिनबाट गंगालालमा पेरिमाउन्ट (एडवार्डस.) नामक बायोलोजिकल भल्भलाई सो मूल्य पर्ने गरेको मनमोहन कार्डियोलोजीको फार्मेसीमा समान प्रकारको मेडिकल भल्भ १ लाख १० हजारमा पाइने पत्ता लागेको छ ।
‘भल्भको ब्रान्ड, किसिम, नाम तथा त्यसको ड्युराबल टाइम, त्यसमा गरिएको रिफाइनअनुसार भल्भको फरक हुने भएकाले कुन किसिमको भल्भमा बढी मूल्य लिएको हो, एकीन भएन’ प्रतिवेदनमा भनिएको छ ।
प्रतिवेदनअनुसार गंगालालको फार्मेसीमा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) लेखिएका औषधि र उपकरणमा ५ प्रतिशत छुट दिने र एमआरपी नलेखिएकामा खरिद मूल्यको १६ प्रतिशत थपेर बिक्री मूल्य तोकेर लिने गरिएको छ ।
प्रकाशित समय : ००:४९ बजे



















