गृहपृष्ठ सातै प्रदेशमा कार्यक्रम गर्दै सामाजिक सुरक्षा कोष
सातै प्रदेशमा कार्यक्रम गर्दै सामाजिक सुरक्षा कोष
सामाजिक सुरक्षा कोषले मंसिर ११ गते देशव्यापी कार्यक्रम गरेर सामाजिक सुरक्षा कोष दिवस मनाउँदै छ । २०७५ साल मंसिर ११ गते स्थापना भएको सामाजिक सुरक्षा कोषले एक वर्ष पूरा गरेको अवसरमा सातै प्रदेशमा औपचारिक कार्यक्रम गर्न लागेको हो ।
बुधबारको कार्यक्रमका लागि कोषले वरिष्ठ अधिकृतहरुलाई पठाइसकेको छ । प्रदेश १ मा जमुना नेपाल, प्रदेश २ मा उत्तम नेपाल, प्रदेश ३ मा आमिद अन्सारी, गण्डकी प्रदेशमा दिनेश कोइराला, प्रदेश ५ मा कृष्ण अधिकारी, कर्णाली प्रदेशमा शारदा फुयाँल र सुदूरपश्चिम प्रदेशमा रोहित रेग्मीलाई पठाइएको छ ।
कोषले रोजगारदाता र श्रमिकसहितको उपस्थितिमा देशव्यापी औपचारिक कार्यक्रम गर्न लागेको हो । प्रादेशिक कार्यक्रमका लागि पुगेका वरिष्ठ अधिकृतहरुले उद्योग वाणिज्य संघलगायत जिल्लाका उद्योगी व्यवसायी एवं श्रमिकहरुसँग समन्वय गरिरहेका छन् । ‘प्रदेश सरकार, श्रम तथा रोजगार कार्यालयलगायत स्थानीय उद्योगी व्यवसायी र श्रमिकका संगठनसँग समन्वय गरिरहेका छौं,’ गण्डकी प्रदेश संयोजकको जिम्मासहित पोखरा पुगेका उपनिर्देशक दिनेश कोइरालाले भने । कार्यक्रमको सम्बन्धित प्रदेशका मुख्यमन्त्रीले उद्घाटन गर्ने तयारी छ ।
प्रदेशस्तरमा चाँडै स्मार्ट काउन्टर खोल्ने योजना बनाएको कोषले कोष दिवसले त्यसको आधार खडा गर्ने विश्वास लिएको छ । ‘सबै प्रदेश र सबै क्षेत्र कभर गर्ने उद्देश्यले देशव्यापी कार्यक्रम गर्न लागेका हौं,’ कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले भने, ‘कोषको बृहत्तर उद्देश्य प्राप्तिका लागि प्रदेश कार्यालय पनि खोलिने भएकाले यस्ता कार्यक्रमको विशेष अर्थ रहने विश्वास छ ।’ कार्यक्रमका लागि श्रम तथा रोजगार मन्त्रालय पनि आर्थिक सहयोग गरेको छ ।
सामाजिक सुरक्षा कोषमा मंगलबारसम्ममा ११ हजार रोजगारदाता र १ लाख १५ हजार योगदानकर्ता आबद्ध भइसकेको कार्यकारी निर्देशक ज्ञवालीले जानकारी दिए ।
प्रकाशित समय : १६:३६ बजे




















