global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ चीन सरकारको सहयोगमा रसुवामा आवासीय विद्यालय निर्माण

चीन सरकारको सहयोगमा रसुवामा आवासीय विद्यालय निर्माण

चीन सरकारको सहयोगमा रसुवामा आवासीय विद्यालय निर्माण

रसुवा । मित्रराष्ट्र चीन सरकारको सहयोगमा रसुवाको कालिकास्थान–५ स्थित जिबजिबेमा नीलकण्ठ नमुना आवासीय माध्यमिक विद्यालय भवन निर्माणको काम ६५ प्रतिशत पूरा भएको छ ।

चिनियाँ प्राविधिक तथा कामदारको प्रत्यक्ष संलग्नतामा तीव्र गतिमा निर्माण भइरहेको सुविधा सम्पन्न एवं भूकम्प प्रतिरोधी सो भवनको शिलान्यास २०८१ साल कात्तिकमा भएको थियो ।

विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद देवकोटाका अनुसार भवन निर्माणका लागि केही सामग्री चीनतर्फबाट झिकाइएको र गिटी–बालुवालगायतका सामग्री स्थानीय खोला नदीबाट ल्याएको, भवन निर्माण प्रक्रियामा केही स्थानीयबाहेक चिनियाँ पक्ष नै खटेको, अहिले पिलार तथा ढलानको काम सम्पन्न भएको तथा प्लाष्टरलगायतका काम भइरहेको र आगामी कात्तिक महिनाभित्र भवन हस्तान्तरण गर्ने तयारीसहित निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ ।

नवनिर्मित विद्यालय भवनमा सानाठूला गरी ६० वटा कक्षाकोठा रहेको र घरबाट हिँडेर विद्यालय आउन नभ्याउने विद्यार्थीलाई लक्षित गरी करिब १५० क्षमताको आवासीय भवन निर्माण भइरहेको प्रधानाध्यापक देवकोटाले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समिति कार्यवाहक अध्यक्ष लोकनाथ पौडेलले २०७२ सालको गोर्खा भूकम्पका कारण सो विद्यालयमा क्षति पुगेपछि अस्थायी प्रकृतिको भवनमा पठनपाठन हुँदै आएको र विशेष गरी चिसोको समयमा विद्यार्थी बिरामी हुने गरेको अवस्थामा नवनिर्मित सुविधा सम्पन्न सो भवनबाट स्थानीय विद्यार्थीले अपेक्षा गरेभन्दा बढी राहत पाउने भएसँगै आम अभिभावकमा खुसी छाएको स्पष्ट गरे ।

विसं २०२१ मा स्वर्गीय चुडामणि पौडेल, गोविन्दप्रसाद देवकोटा, डिल्लीराज देवकोटा र देविदत्त पौडेल तथा शिवप्रसाद देवकोटा, झग्रेन्द्रप्रसाद देवकोटासमेतका बुद्धिजीवीको सक्रियतामा स्थापना भएको सो विद्यालय २०३५ सालमा निम्न माध्यमिक र २०५८ सालमा माध्यमिक तहमा स्तरोन्नति भएको ज्येष्ठ नागरिक रुद्रनारायण देवकोटाले जानकारी दिए । हाल सो विद्यालयमा ३५० विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित समय : ०६:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु