global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ रोकिएन चुरे दोहन, दर्जनौँ बस्ती पहिरोको जोखिममा

रोकिएन चुरे दोहन, दर्जनौँ बस्ती पहिरोको जोखिममा

रोकिएन चुरे दोहन, दर्जनौँ बस्ती पहिरोको जोखिममा

चुरे क्षेत्रको समस्या समाधानका लागि स्थानीय तहहरुले ठूलो रकम लगानी गर्दै आएका छन् । चुरे दोहन रोक्नका लागि धेरै कार्यक्रमहरु पनि भइरहेका छन् । तर ति सबै प्रभावकारी देखिएका छैनन् ।

चुरे दोहनकै कारण झापाको उत्तरी क्षेत्रका बस्ती पहिरो र भूक्षयको जोखिममा छ । अर्जुनधारा नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ प्राकृतिक रुपमै पनि जोखिमयुक्त चुरे तथा भावर क्षेत्रमा अवस्थित छ । जसका कारण यस क्षेत्रका स्थानीयलाई बाढीपहिरो र भूक्षयजस्ता प्राकृतिक विपत्तिले वर्षौदेखि पिरोल्दै आएको छ ।

इलामको दक्षिणी चुरे क्षेत्र हुँदै बग्ने खोला तथा खहरेका कारण नगरका खेतीयोग्य जमिन र बस्तीहरु कटान हुँदै आएको छ । सो क्षेत्रमा टाङटिङ, बिरिङ, ठूलो नेते, सानो नेते, सुखानी लगायतका सानाठूला खोला रहेका छन् ।

कटानका कारण स्थानीयले वर्षौंदेखि समस्या झेलिरहनु परेको अर्जुनधारा नगरपालिका– १ का वडा सदस्य माधवप्रसाद आचार्यले बताए । ‘खोला र खहरेले साह्रै दुख दिएको छ । खेती लगाउने जमिन बगायो, बस्ती बगाउन लागिसक्यो,’ उनले समस्या सुनाए । बढ्दो चुरे दोहनको असर अर्जुनधारा नगरपालिकाको विभिन्न बस्तीमा देखिएको उनले बताए ।

उनका अनुसार कुनै बेला खेतीसहितको बस्ती रहेको अर्जुनधारा– १ को बिरान क्षेत्र अहिले ‘पेरुङ्गे पहिरो’मा परिणत भएको छ । २०७१ सालबाट जमिन भासिन थालेपछि बस्ती स्थानान्तरण गरिएको हो । करिब १० घरधुरी रहेको यो गाउँका सबै घरहरु जमिन भासिएर चर्किन र लड्न थालेपछि बस्न नसकिएको स्थानीय बिर्खबहादुर कार्कीले बताए ।

पुस्तौँदेखि बस्दै आएको घर जोगाउन स्थानीयले बाँध बनाए पनि जमिन भासिने क्रम नरोकिएको कार्कीको भनाइ छ । ‘दिनदिनै जमिन भासिन थाल्यो । कतिबेला परिवारकै एकै चिहान होला भन्ने त्रास थियो । रोकथामको प्रयास पनि गरिएकै हो । तर पार नलागेपछि नगरपालिकाले बस्ती नै सारेको हो ।’

नगरपालिकाले १० लाख रुपैयाँ लगानी गरेर नौ कठ्ठा जग्गा खरिद गरी बस्ती स्थानान्तरण गरेको हो । चुरे क्षेत्रमा रहेका जोखिमयुक्त बस्तीलाई एकीकृत गर्ने लक्ष्यले बस्ती स्थानान्तरण गरिएको मेयर हरि रानाले बताए । ‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत बस्ती जोगाउन नेते खोला किनारमा बाँध निर्माण गरेका छौँ । बिरिङ्ग र टाङटिङ खोलामा पनि संरक्षणको काम भइरहेको छ,’ उनले भने । नदीजन्य पदार्थ निकासी ठेक्काबाट उठेकोमध्ये १४ प्रतिशत रकम नगरपालिकाले स्थानीय क्षेत्रको संरक्षण, सम्वद्र्धनमा लगानी गर्दै आएको मेयर रानाले जानकारी दिए ।

चुरे क्षेत्रमा देखिएको समस्या समाधान गर्न र चुरे क्षेत्र जोगाउनका लागि सरकारले राष्ट्रपति चुरे संरक्षण कार्यक्रम लागू गर्दै आएको छ । कार्यक्रमले अर्जुनधारा नगरका प्रभावित स्थान र बासिन्दालाई थोरै भए पनि राहत मिलेको छ । तर समस्याको दीर्घकालीन समाधानमा सरकारले ध्यान दिनुपर्ने स्थानीयको माग छ ।

प्रकाशित समय : १९:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु