global ime bank Long Banner Ad

गृहपृष्ठ मुस्ताङमा जम्यो ताल तथा खोलाको पानी

मुस्ताङमा जम्यो ताल तथा खोलाको पानी

मुस्ताङमा जम्यो ताल तथा खोलाको पानी

चिसो बढेसँगै मुस्ताङका खोला तथा तालमा पानी जमेको छ । बुधबारदेखि मौसममा भएको बदलीसँगै बढेको चिसोका कारण जनजीवन प्रभावित भएको छ । चिसोका कारण उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका-१ चराङका खोला र धारामा पानी जमेको स्थानीयवासी तिलक विकले जानकारी दिए ।

उनका अनुसार उपल्लो मुस्ताङमा न्यूनतम तापक्रम माइनस १५ डिग्री सेल्सियस पुगेको छ । खाना पकाउन, गाईबस्तुलाई खुवाउन, सरसफाइ र घरायसी प्रयोजनका लागि आगो र ग्यासमा पानी तताउन थालिएको छ । पानी जमेर धारामा आउन छाडेको छ ।

यसैगरी सदरमुकाम जोमसोम नजिकै घरपझोङ गाउँपालिका-५ मा रहेको धुम्बा तालमा पनि पानी जमेको छ । तालमा पानी जमेको हेर्ने पर्यटकको चहलपहल बढेको वडाध्यक्ष वीरेन्द्र थकालीले बताए ।

बिहीबार रातिदेखि हिउँ पर्न थालेको छ । स्थानीयवासी चिसोका कारण घरबाहिरको काम गर्न सकेका छैनन् । गाईबस्तु गोठमै राखेर भण्डारण गरिएको सुक्खा घाँस खुवाइएको छ । जोमसोम-कोरला सडकलगायत विकास आयोजना चिसोले प्रभावित भएका छन् । उपकरण र मजदुरले काम गर्न सकेका छैनन् । जाडो छल्न लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका अधिकांश बासिन्दा पोखरा, काठमाडौँ, म्याग्दी, बुटवल, चितवनलगायत ठाउँमा गएका छन् ।

गाउँमा घर कुरुवा राखेर स्थानीयवासी न्यानो ठाउँमा गएका छन् । उनीहरु गर्मी बढेपछि फागुनमा मात्र घर फर्कने जनाइएको छ । स्थानीय तह, वडा र सरकारी कार्यालयका कर्मचारी, जनप्रतिनिधि पनि अधिकांश पोखरा गएका छन् । लोघेकर दामोदरकुण्ड गाउँपालिकाका कर्मचारीले पोखरामा सम्पर्क कार्यालय राखेर सेवा दिएका छन् । उपल्लो मुस्ताङका विद्यालयहरुले पनि पोखरामा घुम्ती कक्षा सञ्चालन गरेका छन् । (रासस)

प्रकाशित समय : १६:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु