निर्देशक सञ्जय गुप्ताको निधनपछि ‘काँटे-२’ सञ्जय दत्तले पूरा गर्ने
वि.सं.२०८३ कात्तिक १५ आइतवार १५:०२
shares

काठमाडौं । बलिउडका चर्चित निर्माता निर्देशक सञ्जय गुप्ताको निधन भएको छ । ५७ वर्षीय गुप्ताको शुक्रबार राति आफ्नै घरमा अकस्मात निधन भएको हो ।
पोस्टमार्टमपछि शनिबार साँझ मुम्बइ,वर्सोवा श्मसानघाटमा उनको अन्त्यष्टि भइसकेको छ । सञ्जयको अन्त्येष्टिमा अभिषेक बच्चन, सोनु सुद, राकेश रोशन, मनोज बाजपेयी, रोनित रोय, राजपाल यादव, गुल्सन ग्रोभर, भुषणकुमार, फरदिन खान, मुकेश छावडालगायतका बलिउड हस्तहिरुको उपस्थिति थियो ।
सञ्जय राति बाथरूममा चिप्लिएर लडेको, टाउकोमा गहिरो चोट लागेको र धेरै रगत बगेका कारण बेहोशीमै प्राण गएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मुम्बई बर्सोवास्थित आफ्नो घरको पहिलो तलमा उनी एक्लै सुतेका थिए । उनकी श्रीमती, छोराछोरी र एक कामदार दोस्रो तलामा बस्ने गर्छन् । अबेर बिहानसम्म सञ्जयको तर्फबाट कुनै हलचल नदेखिएपछि परिवारका सदस्यहरू उनलाई बोलाउन गएका थिए । तर उनी बाथरुममा निस्प्राण थिए । त्यसपछि तुरुन्त श्रीमतीले प्रहरीलाई खबर गरिन् ।
मुम्बई बर्सोवा प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा पुग्यो। प्रहरीले जनाएअनुसार निर्देशक गुप्ताको निधनमा परिवार, कामदार वा बाहिरी कसैको कुनै संलग्नता भएको देखिँदैन।
निर्देशक गुप्ताले सन् १९९४ मा ‘आतिश’ फिल्मबाट निर्देशन यात्रा सुरु गरेका थिए । तर, उनलाई पहिलो ठूलो सफलता सन् २००२ मा बनेको ‘काँटे’ फिल्मबाट मिल्यो।
‘काँटे’ मा अमिताभ बच्चन, सञ्जय दत्तलगायतका कलाकार थिए । सो फिल्मबाट उनको कथावाचन,पात्रको चरित्र चित्रण तथा निर्देशन शैलीको निकै प्रशंसा भएको थियो ।
बलिउडमा ग्याङस्टर र अन्डरवर्ल्ड अपराधमा आधारित फिल्म बनाउने निर्देशकको कुरा उठ्दा सञ्जय गुप्ताको नाम आइहाल्छ । उनी सञ्जय दत्तसँग मिलेर ‘काँटे’–२’ बनाउने तयारीमा थिए । बलिउडका फिल्मकर्मीहरु निर्देशक गुप्तालाई स्क्रिप्टका भण्डार भन्ने गर्दछन्।
सञ्जयले ‘सुटआउट एट वाडाला’,‘सुट आउट एट लोखन्डेवाला’, ‘काबिल’, ‘मुसाफिर’, ‘राम शास्त्र’, ‘हमेशा’, ‘खौफ’, ‘जिन्दा’, ‘दस कहानीया’, ‘मुम्बइ सागा’ लगायतका फिल्म निर्देशन गरेका छ्न् ।
अभिनेता सञ्जय दत्तले आफ्ना प्रिय निर्देशकको निधनमा दु:ख ब्यक्त गर्दै उनको अधुरो सपना ‘काँटे–२’ आफूले निर्माण गर्ने प्रतिबद्र्धता ब्यक्त गरेका छन् ।

























