काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्ध

609
shares

काठमाडौं । वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् ।

३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन् । तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन् । उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन् ।

एलेनले वेस्ट इन्डिजका लागि २० एक दिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। एक दिवसीयमा उनले २०० रन बनाउनुका साथै सात विकेट लिएका छन्। टी–२० अन्तर्राष्ट्रियमा उनको नाममा २९८ रन र २४ विकेट छ ।

सबै खाले टी–२० क्रिकेटमा एलेनले १७८ खेल खेल्दै १ हजार ६३४ रन बनाएका छन् भने १०९ विकेट लिएका छन्। यस प्रारूपमा उनको ब्याटिङ स्ट्राइक रेट १३९.८९ छ । उनले १०६ छक्का प्रहार गरेका छन् ।

एलेनले सन् २०१६ मा जमैकाबाट प्रथम श्रेणी क्रिकेटमा पदार्पण गरेका थिए । सन् २०१८ मा भारत भ्रमणका क्रममा उनले वेस्ट इन्डिजको एक दिवसीय र टी–२० अन्तर्राष्ट्रिय टोलीमा स्थान बनाएका थिए । सन् २०२२ को सुरुवातमा व्यक्तिगत कारणले क्रिकेटबाट केही समय टाढिएका उनी सोही वर्ष अगस्टमा पुनः खेलमा फर्किएका थिए ।

त्यसपछि उनले वेस्ट इन्डिजका लागि सीमित अवसर पाए पनि क्यारेबियन, यूएई, दक्षिण अफ्रिका, क्यानडा, पाकिस्तान, भारत, श्रीलंका र बंगलादेशका विभिन्न टी–२० लिगमा खेलेका छन् ।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले एलेनको आगमनले टोलीको स्पिन बलिङ र तल्लो क्रमको ब्याटिङलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे ।

‘फेबियन एलेन अनुभवी टी–२० खेलाडी हुन् । उनको अलराउन्ड क्षमताले टोलीलाई बलियो बनाउने विश्वास लिएका छौँ । विशेष गरी स्पिन बलिङ र तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनको क्षमताबाट टोलीले फाइदा लिने अपेक्षा गरेका छौँ,’ खड्काले भने ।

टोलीमा अनुबन्ध भएपछि एलेनले सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्न उत्साहित रहेको बताए ।

‘सुदूरपश्चिम रोयल्सको हिस्सा बन्न पाउँदा खुसी छु । नेपालमा आएर एनपीएल खेल्न र टोलीको सफलतामा योगदान दिन उत्साहित छु । समर्थकहरूका अगाडि राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछु,’ एलेनले भने ।