इजरायली चुनावका प्रमुख प्रतिस्पर्धी
वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:३९
shares

गाजामा युद्ध सुरु भएको तीन वर्षपछि इजरायलमा आगामी मङ्गलबार हुने निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका प्रतिस्पर्धीबीच सत्ता नियन्त्रणका लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ । जनमत सर्वेक्षणले नेतान्याहुको लिकुड पार्टी र गदी इसेनकोट नेतृत्वको मध्यमार्गी याशर पार्टीबीच प्रतिस्पर्धा देखाएका छन् । इजरायलको १२० सदस्यीय संसद् नेसेटमा सरकार गठनका लागि कम्तीमा ६१ सिटको समर्थन आवश्यक पर्ने भएकाले निर्वाचनपछि दलहरूबीच गठबन्धन निर्माण निर्णायक हुनेछ ।
सतहत्तर वर्षीय नेतान्याहु इजरायलको सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका नेता छन । समर्थकहरूले उनको सुरक्षा र आर्थिक अनुभव तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको निकट सम्बन्धलाई महत्त्व दिन्छन् । तर, विरोधीहरूले सन् २०२३ अक्टोबर ७ को हमास आक्रमणअघि सुरक्षा कमजोरी हुन दिएको र त्यसपछिको युद्ध व्यवस्थापनमा असफल भएको आरोप लगाउँछन् । उनले युद्ध अपराध, मानवताविरुद्धका अपराध तथा ठगी र घुससम्बन्धी आरोप अस्वीकार गर्दै आएका छन ।
छैसठ्ठी वर्षीय पूर्वसैनिक प्रमुख गदी इसेनकोट मध्यमार्गी विकल्पका रूपमा प्रस्तुत भएका छन । गाजाको युद्धमा उनका छोरा र दुई भतिजाको मृत्यु भएको थियो । नेतान्याहुको युद्ध मन्त्रिपरिषद्मा काम गरेका उनले स्पष्ट रणनीति नभएको भन्दै आठ महिनापछि राजीनामा दिएको थिए। सुरक्षा नीतिमा भने उनि कडा मानिन्छन ।
पूर्वप्रधानमन्त्री नाफ्ताली बेनेट मध्यमार्गी नेता यायर लापिडसँग चुनावी गठबन्धनमा छन । उनि प्यालेस्टिनी स्वतन्त्रताको विरोध र पश्चिमी किनारमा यहुदी बस्ती विस्तारको समर्थन गर्छन । सन् २०२१ मा उनले वामपन्थी तथा अरब दलको समर्थनमा गठबन्धन सरकारको नेतृत्व गर्दै प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन–गभिर अति दक्षिणपन्थी नेता छन । उनि प्यालेस्टिनीहरूलाई गाजाबाट अन्यत्र बसाइँसराइ गराउने र त्यहाँ यहुदी बस्ती पुनःस्थापना गर्ने प्रस्तावका कारण विवादमा छन । उनको पार्टीले अघिल्लो निर्वाचनमा राम्रो प्रदर्शन गरेपछि नेतान्याहुको गठबन्धनमा दक्षिणपन्थी प्रभाव बढेको थियो ।
यसैगरी, ५२ वर्षीय मन्सुर अब्बास अरब नेतृत्वको राम पार्टीका नेता छन । उनले अरब समुदायमा अपराध नियन्त्रणजस्ता स्थानीय मुद्दालाई प्राथमिकता दिँदै आएका छन । सन् २०२१ मा उनको पार्टी इजरायली सरकारमा सहभागी हुने पहिलो अरब नेतृत्वको दल बनेको थियो ।
























