दसैँका पुराना सम्झना, बदलिँदो समय
वि.सं.२०८३ कात्तिक ५ बिहीवार १२:३८
shares

लमजुङ । दसैँ नजिकिँदै गर्दा गाउँघरमा पिङ हाल्ने चटारो हुन्थ्यो । बाँस, बाबियो र काठको सहायताले लिङ्गे पिङ बनाइन्थ्यो । आकाशमा रङ्गीचङ्गी चङ्गा उडिरहेका हुन्थे । विद्यालय बिदा भएपछि बालबालिका पिङ खेल्न, साथीभाइसँग रमाइलो गर्न र दसैँ मनाउन उत्साहित हुन्थे । घरआँगन सफा गर्ने, बाटोघाटो सिँगार्ने र आफन्तको आगमनले गाउँघरमा छुट्टै रौनक छाउँथ्यो ।
अहिले समय फेरिएको छ । दसैँ अझै आउँछ, घरआँगन सजिन्छन्, आफन्त घर फर्किन्छन् र मान्यजनबाट टीका, जमरा तथा आशीर्वाद लिने परम्परा कायम छ । तर, पहिले गाउँघरमा देखिने पिङको चहलपहल, सामूहिक खेलकुद र भेटघाटको रौनक धेरै ठाउँमा घट्दै गएको छ । रोजगारीका लागि गाउँ छाड्ने क्रम, आधुनिक प्रविधि र बदलिँदो जीवनशैलीले दसैँ मनाउने तरिकामा परिवर्तन ल्याएका छन् ।
बेँसीसहर नगरपालिका–११, चितीका ७२ वर्षीय हरिकृष्ण तिवारीका लागि दसैँ विगतका अनेक सम्झनासँग जोडिएको पर्व हो । उनको बाल्यकालमा आर्थिक अभाव थियो । वर्षमा एक जोर नयाँ लुगा पाउन कठिन हुन्थ्यो । नयाँ लुगा लगाउन पाउँदा ठूलो खुसी मिल्ने गरेको उनि सम्झन्छन । त्यतिबेला सबैको नयाँ कपडा किनेर लगाउने अवस्था थिएन । घरमै उपलब्ध कपडाबाट लुगा सिलाएर लगाउने चलन थियो । “एक जोर नयाँ लुगा लगाउन पाउँदा खुट्टा भूइँमा नपरेजस्तो लाग्थ्यो,” उनले बाल्यकाल सम्झँदै भने ।
त्यतिबेला दसैँमा खानपानको अवस्था पनि अहिलेको जस्तो सहज थिएन । मासु खान वर्ष दिन कुर्नुपर्ने अवस्था रहेको उहाँको अनुभव छ । अहिले खानपान र किनमेलको सुविधा बढे पनि आर्थिक अवस्था कमजोर भएका परिवारलाई चाडपर्व मनाउन कठिन हुने गरेको उनि बताउछन । विगतमा आर्थिक अवस्था फरक भए पनि अहिलेको जस्तो खर्च र देखासिकीको दबाब कम रहेको उनको बुझाइ छ । दसैँको अर्को आकर्षण पिङ थियो । गाउँका मानिस मिलेर पिङ हाल्थे । युवाहरू बाबियो सङ्कलन गरेर डोरी बाट्थे र आवश्यक काठ तथा अन्य सामग्री जुटाउँथे ।
टाढाटाढाबाट मानिस पिङ खेल्न आउने गरेको तिवारी सम्झनुहुन्छ । पिङ खेल्ने, गीत गाउने र साथीभाइसँग रमाइलो गर्ने गतिविधिले गाउँमा आत्मीयता बढाउँथ्यो । त्यतिबेला कौडा तथा अन्य परम्परागत खेल खेल्ने चलन पनि थियो । मकैका गेडा, आरुको गुठली र ढुङ्गाका साना टुक्रा प्रयोग गरेर खेलिने खेल बालबालिकाका मनोरञ्जनका माध्यम थिए । गाउँले भेला भएर खेल्ने, गफ गर्ने र गीतसङ्गीतमा रमाउने गर्थे । मनोरञ्जनका साधन सीमित भए पनि सामूहिक सहभागिताले दसैँलाई रमाइलो बनाउने गरेको उनको अनुभव छ ।
दसैँको तयारीमा गाउँलेबीच सहयोग र सहकार्य उत्तिकै महत्वपूर्ण थियो । घरायसी काम गर्न नसक्ने ज्येष्ठ नागरिक तथा असहायलाई अरूले सघाउँथे । परमा प्रथाअनुसार एकअर्काको काममा सहयोग गरिन्थ्यो । दसैँअघि बाटोघाटो, चौतारा र सार्वजनिकस्थल सफा गर्ने तथा मिलेर चाडपर्वको तयारी गर्ने चलन थियो । दशमीदेखि पूर्णिमासम्म आफन्तकहाँ जानेआउने र मान्यजनबाट टीका लगाउने परम्पराले पारिवारिक सम्बन्ध बलियो बनाउँथ्यो ।
अहिले गाउँको अवस्था फेरिएको छ । पढाइ, रोजगारी र अन्य अवसरको खोजीमा धेरै मानिस गाउँबाहिर गएका छन् । दसैँमा घर फर्किने पनि छोटो समय बसेर फर्किने हुँदा पहिलेको जस्तो चहलपहल नहुने गरेको तिवारीको अनुभव छ । कतिपय बालबालिका अष्टमीका आसपास गाउँ आउने र टीकाको भोलिपल्टै फर्किने गरेका छन् । पिङ खेल्ने चलन पनि पहिलेको तुलनामा कम भएको छ ।
मोबाइलको बढ्दो प्रयोगले परिवारका सदस्यबीचको संवाद र घरायसी काममा सहभागिता घटेको उनको गुनासो छ । बालबालिका मोबाइलमै व्यस्त हुँदासँगै बसेर कुराकानी गर्ने र घरको काममा सघाउने प्रवृत्ति कम हुँदै गएको उनिबताउछन । आर्थिक हैसियतअनुसार खानपान र खर्च गर्ने क्षमतामा देखिने भिन्नताले पनि चाडपर्वको अनुभूतिमा फरक पारेको उनको बुझाइ छ ।
पुरानो पुस्ताको सम्झना, नयाँ पुस्ताको अनुभव
स्थानीय युवा सुवास गुरुङ पनि दसैँ मनाउने शैलीमा परिवर्तन आएको अनुभव गर्छन। उनका अनुसार बाल्यकालमा साथीभाइसँग गुच्चा खेल्ने, पिङ खेल्ने, नाचगान गर्ने र सामूहिक रूपमा रमाइलो गर्ने चलन थियो । अहिले गाउँमा साथीभाइको सङ्ख्या कम हुँदा यस्ता गतिविधि पनि घट्दै गएका छन् ।
पहिले गाउँमा प्रचलित रङ्गटे पिङ अहिले पनि कतैकतै देखिए पनि यसको चलन निकै कम भएको गुरुङ बताउछन। दसैँमा साथीभाइ भेटघाट गरेर कुराकानी गर्ने र रमाइलो गर्नेभन्दा खानपान तथा मोबाइलमा समय बिताउने प्रवृत्ति बढेको उनको अनुभव छ । “पहिले दसैँ परम्परागत संस्कार र संस्कृतिमा आधारित भएर मौलिक ढङ्गले मनाइन्थ्यो । अहिले भने आधुनिक शैली र देखासिकीको प्रभाव बढ्दै गएको छ,” उनले भने ।
मोबाइल तथा सामाजिक सञ्जालको प्रयोग र वैदेशिक रोजगारीका कारण पारिवारिक भेटघाटमा कमी आएको गुरुङको बुझाइ छ । कतिपय युवा विदेशमा र परिवारका सदस्य टाढा हुँदा घरमा चहलपहल कम हुने गरेको उनि बताउछन। यसले पुराना संस्कार र संस्कृति नयाँ पुस्तामा हस्तान्तरण हुने विषयमा पनि चिन्ता बढाएको उनको भनाइ छ । पुराना संस्कार र संस्कृति जोगाउन युवाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उनि बताउछन ।
आधुनिक समयलाई आत्मसात् गर्दै पुर्खाबाट प्राप्त परम्परालाई व्यवहारमा उतार्नुपर्ने उनको सुझाव छ । “आधुनिक समयलाई आत्मसात् गर्दै मौलिक संस्कार र संस्कृतिलाई पनि जोगाउनुपर्छ । पुर्खाबाट प्राप्त परम्परालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्दै लैजानसके मात्रै हाम्रो मौलिकता जीवित रहन्छ,” उनले भने । ६३ वर्षीया धङ्खु गुरुङलाई पनि पहिलेको दसैँको सम्झना ताजै छ ।
दसैँ आज पनि उत्तिकै महत्त्वपूर्ण छ। तर, यसको रौनक र अनुभव समयसँगै बदलिँदै गएको छ । ज्येष्ठ नागरिकका सम्झना र युवाका अनुभवले चाडपर्व केवल खानपान र बिदामा सीमित नभई परिवार, आफन्त, छिमेकी र समुदायसँगको सम्बन्धसँग जोडिएको देखाउँछन् । त्यसैले बदलिँदो समयसँगै दसैँ मनाउने शैली परिवर्तन भए पनि यसको आत्मीयता, सहकार्य र सांस्कृतिक पहिचान जोगाइराख्नु आवश्यक छ ।
























