काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

न्यालु लेकमा हिउँ पन्छाउने काम रोकियो, लिमीवासीको आवागमनमा सकस

651
shares

सुर्खेत । हिमपातका कारण अवरुद्ध बनेको हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित लिमी जाने सडक खुलाउने काम अधुरै रोकिएको छ । न्यालु लेकमा जमेको हिउँ पन्छाउन केही दिन जेसीबी परिचालन गरिए पनि लिमीतर्फको सडकमा हिउँ नहटाउँदै काम रोकिएको हो । यसले हिमालपारिको लिमी क्षेत्रको आवागमन सहज बनाउने प्रयासमा थप समस्या सिर्जना गरेको छ ।

केही दिनअघि सल्ली हुँदै गएको जेसीबीले सेलिवाङ दहबाट हिउँ पन्छाउने काम गरेको थियो। न्यालु लेकबाट सिमकोटतर्फको सडकमा जमेको हिउँ हटाइए पनि लिमीतर्फको सडकमा भने हिउँ पन्छाउने काम पूरा हुन सकेन। न्यालु लेकको सडकमा तीनदेखि पाँच फिटसम्म हिउँ जमेको लिमीका वडाध्यक्ष पाल्जोर तामाङले बताए ।

उनका अनुसार न्यालु लेकबाट सिमकोटतर्फको सडकमा हिउँ हटाएर जेसीबी फर्किएको छ । लेकको लिमीतर्फको भागमा बाक्लो हिउँ बाँकी रहेकाले सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन सकिएको छैन ।

जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार पूर्वाधार विकास कार्यालयको सहयोगमा सडकमा जमेको हिउँ पन्छाउन सुरु गरिएको थियो । तर, केही दिन काम गरेपछि रोकिएको वडाध्यक्ष तामाङले बताए। हिउँ पन्छाउने काम बीचमै रोकिँदा लिमी जाने सडकको समस्या यथावत् रहेको उनको भनाइ छ ।

हिउँ पन्छाउन स्थानीयको आग्रह

न्यालु लेकको पछाडिपट्टि अझ बढी हिउँ जमेको छ। सडकमा तीनदेखि पाँच फिटसम्म हिउँ रहेकाले सामान्य प्रयासबाट मात्रै आवागमन सहज बनाउन कठिन छ । सडकमा जमेको हिउँ पूर्ण रूपमा नहटाएसम्म सवारीसाधन सञ्चालनमा समस्या हुने स्थानीयको भनाइ छ ।

वडाध्यक्ष तामाङले अधुरो रहेको हिउँ पन्छाउने काम तत्काल सुरु गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् । जिल्ला विपद् व्यवस्थापन समिति र पूर्वाधार विकास कार्यालयको समन्वयमा सुरु गरिएको कामलाई निरन्तरता दिएर सडक खुलाउनुपर्ने उनको माग छ ।

यसअघि पनि न्यालु र नारा लेकमा बाक्लो हिउँ जमेर लिमी तथा हिल्सातर्फको आवागमन प्रभावित भएको थियो। असोजको पहिलो सातादेखि नै उच्च हिमाली क्षेत्रमा हिमपातका कारण सडक बन्द हुँदा स्थानीयलाई अत्यावश्यक कामका लागि समेत बाहिर निस्कन कठिन भएको थियो । बिरामी परेका तथा अन्य अत्यावश्यक कामले बाहिर जानुपर्ने स्थानीयले हेलिकोप्टरको सहारा लिनुपर्ने अवस्था रहेको लिमीका वडाध्यक्ष तामाङले बताएका थिए ।

यात्रु हिउँ छिचोल्दै सिमकोट पुगे

न्यालु लेकमा सडक अवरुद्ध हुँदा लिमीको तुम्लिङमा रोकिएका यात्रुले समेत सास्ती बेहोर्नुपरेको थियो। यसअघि तुम्लिङमा रोकिएका चार जना न्यालु लेकमा जमेको हिउँ छिचोल्दै सिमकोट पुगेका थिए । वडाध्यक्ष तामाङसहित तीन जनाको टोली पनि न्यालु लेक हुँदै सिमकोट आइपुगेको थियो । वडाध्यक्ष तामाङ नारा लेकबाट फर्किएर लिमी पुगिसकेका छन् ।

यसअघि न्यालु लेकमा बाक्लो हिउँ जम्दा लिमी घुम्न गएका आन्तरिक तथा बाह्य पर्यटकसमेत तुम्लिङमा रोकिएका थिए। सडकमा तीन फिटभन्दा बढी हिउँ जम्दा सवारीसाधनले बाटो छिचोल्न नसकेको र यात्रुहरू केही दिनसम्म त्यहीँ बस्न बाध्य भएका छन् ।

लिमी जाने सडक अवरुद्ध हुँदा स्थानीयवासी, पर्यटक र अत्यावश्यक कामले यात्रा गर्नेहरू प्रभावित हुँदै आएका छन्। त्यसैले न्यालु लेकमा रोकिएको हिउँ पन्छाउने काम पुनः सुरु गरी सडकलाई सुरक्षित र सहज रूपमा सञ्चालनमा ल्याउनुपर्ने स्थानीयको माग छ। यो प्रदेश सरकारले निर्माण गरेको सडक रहेको छ ।