काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नवदुर्गासँग जोड्दै नेवार समुदायले उल्लासमय पर्वका रूपमा मनाए मोहनी नखः

693
shares

भक्तपुर । भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् । विजयादशमीको दिन आज मान्यजनको हातबाट मोहनी सिःनं अर्थात् कालो टीका, रातो टीका, जमरा ग्रहण गरी मोहनी नखः मनाएका हुन् ।

यहाँका नेवार समुदायले नवदुर्गा भवानीको पूजा गर्ने क्रममा महानवमीको दिनमा घरघरमा पालामा दियो बालेर त्यसको माथिबाट अर्को पालाले छोपेर पालामा जम्मा भएको कालो ध्वाँसोलाई नै मोहनी सिःनं (कालो टीका) बनाएका हुन्छन् ।

विजयादशमीको दिन बल र विजयको प्रतीकको रूपमा रातो अक्षता, जमरा र निधारको बीचमा मोहनी सिःनं अर्थात् कालो टीका लगाएर दसैँ मोहनी नखः मनाएको भक्तपुरका संस्कृतकर्मी प्रकाश कायस्थले जानकारी दिए ।

असत्यमाथि सत्यको विजय उत्सव अर्थात् आजको दिन त्रिपुरा सुन्दरी भगवती प्रकट भई महिषासुर दैत्यलाई मोहनी लगाई लठ्याएर वध गरेको दिनको रूपमा लिने गरेको उनले जानकारी दिए ।

मोहनी सिःनंलाई तान्त्रिक शक्ति, मोहनी शक्तिको रूपमा लिने परम्परा रहेको आज बिहान टीकाको शुभसाइतमा घरघरमा कालो टीका अर्थात् मोहनी सिःनं लगाएपछि घरघरबाट ब्रह्मायणी मन्दिरमा पूजा लिएर दर्शन गर्न जाने परम्पराअनुसार आज दिनभर र रातिसम्म भक्तपुरको ब्रह्मायणी मन्दिरमा भव्य मेला लागेको छ ।

ब्रह्मायणी मन्दिरमा हजारौँ दर्शनार्थीले आज बाजागाजासहित शक्तिपीठको रूपमा रहेको ब्रह्मायणी देवीको पूजा एवं दर्शन गर्ने जानकारी दिँदै उनले कालो टीकालाई धार्मिक, सांस्कृतिक र तान्त्रिक शक्तिको रूपमा नेवार समुदायले ग्रहण गर्ने गरेको बताए ।

आज मध्यराति तलेजुमा खड्ग जात्रा सम्पन्न भएपछि मात्रै मोहनी नखः सम्पन्न हुने उनले जानकारी दिए । राति ब्रह्मायणीबाट नवदुर्गा देवगण तलेजु आएर नवदुर्गाकी दिदी तलेजुलाई ढोग गरी मन्त्र सिद्ध गरेपछि नवदुर्गा र खड्ग जात्रा गरी तलेजुलाई बोकेर भव्य जात्रा गरी तलेजुको वाहन सेतो घोडालाई पछि लगाउँदै नगरपालिका परिक्रमा गरेपछि मोहनी नखः सम्पन्न हुने उनले जानकारी दिए ।

मोहनी नखः कहिलेबाट सुरु भयो भन्ने यकिन तथ्य भने छैन । दसैँको अवसरमा खड्गयात्रा (पायाः)को चलन भएकाले यसको थिति नेपालमा तन्त्रयानको प्रादुर्भाव भएदेखि सुरु भएको मान्यता रहँदै आएको छ ।

मोहनीको मुख्य विशेषता भनेकै मोहनी सिन्हः हो । मोहनीका बेला नेवार निम्तो आएको ठाउँमा ‘नखत्या’ (छोरीचेलीलाई बोलाउने) जाने चलन छ ।

राजा हरिसिंहदेवले नेपाल संवत् ४४४ मा भारतबाट नेपालमा तलेजु भवानीलाई लिएर आएदेखि मोहनी नखः मनाउन थालिएको भन्ने भनाइ पनि रहँदै आएको छ । त्यसो त बौद्ध धर्मावलम्बीले पनि मोहनी नखः फरक महत्त्वका साथ मनाउने गरेका छन् ।