रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
वि.सं.२०८३ कात्तिक ३ मंगलवार १९:२९
shares

रसुवा। भोटेकोशी र त्रिशूली नदीमा भदौमा गएको बाढीका कारण बगे–भत्केका सडक मर्मतसम्भार भएसँगै नदी तटीय क्षेत्रबाहेक अन्यत्रको जनजीवन लयमा फर्केको छ ।
रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङका अनुसार बाढीले सखाप पारेका रसुवा र नुवाकोट जिल्लाका नदी तटीय क्षेत्रबाहेक अन्यत्रको जनजीवन सामान्यतर्फ फर्केको छ । अहिले त्रिशूली–वेत्रावतीसम्मको सडक यातायात सञ्चालन भएको छ भने शाखा सडकहरू पनि बनाइएको अवस्था छ ।
यसैबीच होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ नुवाकोट र होटल तथा पर्यटन व्यवसायी सङ्घ रसुवाले नदी तटीय क्षेत्रबाहेक अन्यत्र सबै ठाउँ सुरक्षित र सहज भएकाले भ्रमण गर्न सकिने बताएको छ । दुवै संस्थाका तर्फबाट बिनाहिच्किचावट घुमफिर गर्न अनुरोध छ । यसअघि जस्तै सबैखालको सुविधा दिन तयार छाँै भनिएको छ ।
नागरिक समाजका अध्यक्ष तामङले बाह्य तथा आन्तरिक पर्यटकहरूलाई स्वागत गर्न रसुवावासी तयार रहेको बताउँदै यात्रामा कुनै कठिनाइ उत्पन्न नहुने भएकाले ढुक्क भएर भ्रमण गर्न अनुरोध गरेका छन् ।
यसैगरी, होटल तथा पर्यटन व्यवसायी सङ्घ रसुवाका अध्यक्ष विशाल घलेले रसुवाका धार्मिक तथा पर्यटकीय स्थल जाने सबै रूट पूर्ण रूपमा सुरक्षित रहेकाले भ्रमणमा रमाउन सम्बद्ध पक्षको ध्यानाकर्षण गरे ।
होटल व्यवसायी महासङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले पर्यटकीय गतिविधि, व्यावसायिक काम वा व्यक्तिगत यात्राका लागि नुवाकोट तथा रसुवा आउन चाहनेहरूलाई अनावश्यक डर, त्रास वा द्विविधा नराख्न आग्रह गरेका छन् ।
रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले बाढीपछि धादिङको पृथ्वी राजमार्ग गल्छी हँदै देवीघाट–ढुङ्गे–त्रिशूली–वेत्रावती सडक पूर्ण रूपमा सञ्चालनमा आइसकेको, स्याफ्रुबेँसीमा फड्को पुल बनेको र बेलिब्रिज जडान गर्ने तयारी रहेको जानकारी दिए । उनले यातायात सञ्चालन आएको, होटल व्यवसाय पनि सञ्चालन हुन थालेको तथा शान्तिसुुरक्षाको अवस्था मजबुत बनाइकाले यात्रा गर्न असहज ।नहुने बताए ।
























