मङ्गलको चन्द्रमाबाट नमूना ल्याउन जापानको अभियान सुरु
वि.सं.२०८३ कात्तिक ३ मंगलवार १८:०२
shares

काठमाडाैँ । जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा ल्याउने लक्ष्यसहित ऐतिहासिक अन्तरिक्ष अभियान सुरु गरेको छ। यसबाट सौर्यमण्डलको उत्पत्ति र पृथ्वीमा जीवनको सुरुआतबारे नयाँ तथ्य पत्ता लाग्ने वैज्ञानिकहरूको अपेक्षा छ ।
जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जाक्सा) का अनुसार मानवरहित मार्सियन मुन एक्सप्लोरेसन (एमएमएक्स) यान बोकेको एच–३ रकेट जापानको तानेगासिमा अन्तरिक्ष केन्द्रबाट मङ्गलबार बिहान प्रक्षेपण गरिएको हो । प्रक्षेपणको एक घण्टाभन्दा बढी समयपछि यान रकेटबाट सफलतापूर्वक छुट्टिएको थियो।
अन्तरिक्ष यान सन् २०२७ को अगस्टमा मङ्गल ग्रहको नजिक पुग्नेछ। त्यसपछि यसले फोबोसको परिक्रमा गर्दै कम्तीमा १० ग्राम सतही पदार्थ सङ्कलन गर्नेछ। फ्रान्सेली–जर्मन रोभर ‘इडफिक्स’ ले पनि फोबोसको सतहको अवलोकन गर्दै सुरक्षित अवतरणको प्रयास गर्नेछ।
जाक्साका अनुसार अभियानले मङ्गल र यसका दुई चन्द्रमा फोबोस तथा डिमोसको उत्पत्तिबारे जानकारी जुटाउनेछ। एउटा सिद्धान्तले मङ्गल ग्रह र अर्को खगोलीय पिण्डबीचको ठक्करबाट चन्द्रमा बनेको मान्छ भने अर्कोले ती मङ्गलको गुरुत्वाकर्षणले तानेका क्षुद्रग्रह भएको ठान्छ। यी सिद्धान्तमध्ये कुन सही हो भन्ने पत्ता लाग्दा चट्टानी ग्रहमा जीवन अनुकूल वातावरण कसरी विकास भयो भन्ने बुझ्न सहयोग पुग्ने वैज्ञानिकहरूको विश्वास छ ।
अमेरिकी अन्तरिक्ष निकाय नासाकी विज्ञान अभियान निर्देशनालयकी प्रशासक निकी फक्सले नमूना अध्ययनले भविष्यमा मङ्गल ग्रहमा मानव पठाउने तयारीमा सहयोग पुग्ने बताए। अभियानमा अमेरिका, युरोपेली अन्तरिक्ष एजेन्सी, विश्वविद्यालय र प्रविधि कम्पनीहरूले पनि सहकार्य गरेका छन्।
यसैबिच अमेरिका र चीन मङ्गल ग्रहबाट चट्टानका नमूना पृथ्वीमा ल्याउने अभियानमा प्रतिस्पर्धा गरिरहेका छन् । नासाको ‘पर्सिभरेन्स’ रोभरले सन् २०२१ देखि मङ्गलमा नमूना सङ्कलन गरिरहेको छ। तर, अमेरिकी प्रशासनले ती नमूना पृथ्वीमा फर्काउने अभियान रद्द गरेको थियो। चीनले सन् २०२८ तिर तियानवेन–३ प्रक्षेपण गरी सन् २०३१ सम्ममा मङ्गलका नमूना पृथ्वीमा ल्याउने लक्ष्य राखेको छ।
























