काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो

840
shares

ai logo सारांश

  • वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका–२ का सात महिलाले दुनाटपरी उद्योग सञ्चालन गरेका छन् ।
  • परम्परागत सीपलाई व्यावसायिक रूप दिएपछि उनीहरूका लागि रोजगारी र आम्दानीको अवसर सिर्जना भएको छ ।
  • उद्योगबाट मासिक २५ हजारदेखि ३० हजारसम्म आम्दानी हुने गरेको छ ।

पाल्पा । वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका–२ का सात महिलाले दुनाटपरी उद्योग सञ्चालन गरेका छन् । परम्परागत सीपलाई व्यावसायिक रूप दिएपछि उनीहरूका लागि रोजगारी र आम्दानीको अवसर सिर्जना भएको छ ।

चार लाख लगानीमा सञ्चालन गरिएको ‘दिदीबहिनी कुटिर उद्योग’बाट दैनिक एक हजार दुनाटपरी उत्पादन हुँदै आएको उद्योगकी अध्यक्ष कल्पना पौडेलले बताए । उनका अनुसार उद्योगबाट मासिक २५ हजारदेखि ३० हजारसम्म आम्दानी हुने गरेको छ ।

गाउँघरमा महिलाहरू भेला भएर सालका पातबाट दुनाटपरी बनाउने परम्परालाई आधुनिक प्रविधिसँग जोडेर व्यावसायिक उत्पादन सुरु गरिएको पौडेलले बताईन। मेसिनबाट बनाइएका दुनाटपरी हातले बनाइएकाभन्दा आकर्षक र बलिया हुने उनले बताईन ।

“दुनाटपरी उत्पादनले महिलालाई आम्दानीको अवसर दिएको छ । यसले भोजभतेरमा प्रयोग हुने प्लास्टिकका प्लेटलाई प्रतिस्थापन गर्न पनि सहयोग पु-याएको छ,” उनले भनिन ।

गाउँका वनमा सालका रूख प्रशस्त भए पनि पात संकलन गर्ने जनशक्ति अभाव हुँदा मागअनुसार उत्पादन गर्न कठिन भइरहेको पौडेलले बताईन । पात संकलन गरेर मात्रै पनि दैनिक पाँच सयदेखि एक हजारसम्म कमाउन सकिन्छ ।

“लाफा बनाउने र टपरी उत्पादन गर्ने कामबाट पनि राम्रै आम्दानी भइरहेको छ । घरमा त्यसै बसेर समय खेर फाल्नुभन्दा दुनाटपरी बनाएर बिक्री गर्दा घरखर्च चलाउन सहयोग पुगेको छ,” पौडेलले भनिन ।

उद्योग सञ्चालनमा आएपछि पहिले घरमै समय बिताउने महिलाहरू नियमित रूपमा उत्पादनमा संलग्न हुन थालेका छन् । सामूहिक रूपमा काम गर्दा सीप आदानप्रदान हुनुका साथै आम्दानीको अवसर पनि सिर्जना भएको सञ्चालक मञ्जु रेग्मीले बताईन ।

उद्योगबाट उत्पादित सानो दुनाको खुद्रा मूल्य प्रतिगोटा दुई र थोकमा १०० वटाको १९० मा बिक्री हुने गरेको छ । चारकुने टपरी खुद्रामा प्रतिगोटा सात र थोकमा छ मा बिक्री गरिन्छ । लाफा खुद्रामा १३ र थोकमा ११ मा बिक्री हुने गरेको उनले जानकारी दिईन ।

उत्पादित दुनाटपरीको माग स्थानीय बजारमा मात्रै सीमित छैन । बाहिरी जिल्लाबाट पनि माग आउने गरेको रेग्मीले बताईन ।बजारका चाट पसल तथा पूजासामग्री पसलसँग सम्पर्क गरेर उत्पादन बिक्री गर्ने गरिएको छ ।

“सुरुआती चरणमै धेरैले उत्पादन मन पराएको छ । गाउँगाउँबाट दिदीबहिनीहरूले पात ल्याउछन् । बर्खामा पात पाउन कठिन हुने भएकाले अहिले नै संकलन गरेर गोदाममा राखेका छौँ,” रेग्मीले भनिन । यो उद्यममा लागेपछि महिलाको आयस्रोत बढेको छ । पहिले टपरी बुन्न सिकेका महिलाहरू अहिले मेसिनको सहायताले आफैँ दुनाटपरी उत्पादन गर्न सक्षम भएका छन् ।

बजारमा दुनाटपरीको माग बढ्दै गए पनि कच्चा पदार्थ र मेसिनको अभावमा मागअनुसार उत्पादन गर्न कठिन भइरहेको उद्यमीहरू बताउँछन् । सालका रूख प्रशस्त भएका वन क्षेत्रमा पात संकलन गर्ने जनशक्ति अभाव हुँदा उत्पादन प्रभावित हुने गरेको छ ।

उद्योगकी सचिव कल्पना पोखरेल खनालले वडा कार्यालयबाट एउटा मेसिन सहयोग प्राप्त भए पनि बजारको मागअनुसार उत्पादन बढाउन थप सहयोग आवश्यक रहेको बताईन । स्थानीय सरकारले थप मेसिन उपलब्ध गराउनुका साथै कच्चा पदार्थ व्यवस्थापनमा सहयोग गरे उद्योग विस्तार गर्न सहज हुने उनको भनाइ छ ।

“पहिले घरमा बसेर दिन बित्थ्यो, अहिले दिदीबहिनीहरू भेला भएर काम गर्दा आम्दानी पनि भएको छ । वनमा खेर जाने पात र खाली समयको सदुपयोग गरेर एक जनाले मासिक पाँच हजारसम्म कमाउने गरेका छन्,” खनालले भनिन ।

उद्योगबाट हुने आम्दानीले महिलालाई घरखर्च चलाउन र आफ्ना आवश्यकता पूरा गर्न सहयोग पुगेको छ । प्लास्टिकका भाँडाको प्रयोग घटाउन तथा वातावरणमैत्री सामग्रीको प्रवद्र्धन गर्न स्थानीय सरकारले पनि भूमिका खेल्नुपर्ने खनालको सुझाव छ ।

विवाह, व्रतबन्ध, पूजापाठ, धार्मिक अनुष्ठान तथा भोजभतेरमा दुनाटपरीको प्रयोग हुँदै आएको छ । दुनाटपरी उत्पादनबाट परम्परागत सीप र संस्कृतिको संरक्षणका साथै स्थानीयस्तरमा रोजगारी र आम्दानीका अवसर सिर्जना गर्न मद्दत पुगेको छ ।