काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

उपराष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

840
shares

काठमाडौँ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले हिन्दू धर्मावलम्बीको महान् पर्व विजयादशमी धार्मिक आस्थाको विषय मात्र नभई मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव भएको बताएको छन् ।

विजयादशमी, २०८३ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले सत्य, न्याय, धर्म र सदाचार अन्ततः विजयी हुन्छन् भन्ने युगीन सन्देश बोकेको बडादसैँले मानिसलाई आफ्नो आचरण र व्यवहारलाई आत्मसमीक्षा गर्ने अवसर प्रदान गर्ने बताएको छन् ।

“विजया दशमीले असत्य, अन्याय, विभेद, हिंसा र नकारात्मक प्रवृत्तिमाथि मानवता, विवेक र नैतिक शक्तिको विजय सुनिश्चित हुने विश्वासलाई थप बलियो बनाउँछ”, शुभकामना सन्देशमा उपराष्ट्रपतिले भनेका छन् ।

विजयादशमीले समाजमा सहिष्णुता, आत्मानुशासन, संयम र कर्तव्यप्रतिको निष्ठालाई प्रवर्द्धन गर्ने उल्लेख गर्दै उहाँले लोभ, घृणा, अहङ्कार, ईष्र्या र वैमनस्यजस्ता दुर्गुणलाई त्यागी सहकार्य, समर्पण, सद्भाव र मानवीय संवेदनाको मार्गमा अघि बढ्न दसैँले प्रेरणा दिने बताएको छन् ।

व्यक्तिको आन्तरिक शुद्धीकरण र सामाजिक उत्तरदायित्वबीच सन्तुलन कायम राख्न विजयादशमीको विशेष महत्व रहेको उनको भनाइ छ ।

दसैँ पुनर्मिलन र आत्मीयताको महापर्व भएको उल्लेख गर्दै उपराष्ट्रपतिले शिक्षा, रोजगारी, व्यवसाय वा अन्य कारणले परिवार र समुदायबाट टाढा रहेका व्यक्ति यस अवसरमा आफ्ना प्रियजनसँग भेटघाट गरी सम्बन्धको नवीकरण गरिँदै आइएको बताए ।

“ज्येष्ठको आशीर्वाद, अग्रजप्रतिको सम्मान र कनिष्ठप्रतिको स्नेह आदानप्रदानले पारिवारिक तथा सामाजिक सम्बन्धलाई अझ बलियो बनाउने अवसर प्राप्त हुन्छ”, उपराष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, “यस अर्थमा विजयादशमी धार्मिक संस्कारमा मात्र सीमित नभई सामाजिक एकता र मानवीय सम्बन्धको उत्सवका रूपमा स्थापित भएको छ ।”

हाम्रा परम्परागत संस्कार, लोककला, लोकसङ्गीत, सांस्कृतिक अभ्यास तथा सामुदायिक क्रियाकलापले राष्ट्रिय पहिचानलाई समृद्ध बनाएको जनाउँदै उनले यस्ता सांस्कृतिक आयामको संरक्षण र प्रवर्द्धनमा विजयादशमीजस्ता पर्वको महत्वपूर्ण योगदान रहेको बताएको छन् ।

आजको परिवर्तित विश्व परिदृश्यमा सामाजिक सद्भाव, राष्ट्रिय एकता, आपसी सम्मान र सहअस्तित्वको भावना अझ बढी आवश्यक भएको उल्लेख गर्दै उपराष्ट्रपतिले विभाजन र वैमनस्यताभन्दा माथि उठेर साझा राष्ट्रिय हित, सामाजिक समरसता र समुन्नत नेपालको निर्माणतर्फ अग्रसर हुन विजयादशमीले प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन् ।

उपराष्ट्रपतिले विजयादशमी, २०८३ले प्रत्येक नेपाली नागरिकको जीवनमा आशा, ऊर्जा, आत्मविश्वास र सफलताको नयाँ अध्याय प्रारम्भ गराओस् भनी शुभेच्छा व्यक्त गरेका छन् । उनले विजयादशमीका अवसरमा स्वदेश तथा विदेशमा रहका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।