पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन
वि.सं.२०८३ असोज २९ बिहीवार १५:४५
shares

भोजपुर । भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा ‘फेरी’ सेवा सञ्चालन भएसँगै नदी वारपार गर्न सहज हुने भएको छ । यसअघि पक्की पुल नहुँदा आवागमनमा समस्या हुँदै आएकामा पाँच महिनापछि फेरीमा सेवा सञ्चालनमा आएको हो । दसैँ, तिहारमा आवागमन सहज बनाउने उद्देश्यले पाँच महिनापछि सेवा सञ्चालनमा आएको हो ।
बर्सातका कारण गत जेठदेखि बन्द रहेको सतिघाटखण्ड बुधबारदेखि फेरी सञ्चालनमा आएपछि भोजपुरको उत्तरी क्षेत्रका नागरिकलाई आवतजावतमा सहज भएको छ । दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गरी सतिघाटमा हलुका सवारीसाधनलाई नदी वारपार गर्न मिल्ने गरी सेवा सञ्चालनमा ल्याइएको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले बताए ।
अरुण नदीको सतिघाटमा पक्की पुल नहुँदा भोजपुर र सङ्खुवासभाका नागरिकलाई आवागमनमा समस्या हुँदै आएको थियो । सेवा सञ्चालनमा आएसँगै उत्तरी क्षेत्रका नागरिकलाई दैनिक उपभोग्य सामग्री ओसारपसार गर्न तथा आवतजावत गर्न सहज हुने उनको भनाइ छ ।
आवागमन सञ्चालनमा आएपछि षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिकलाई राहत पुगेको छ । सतिघाटमा पक्की पुल निर्माण नहुँदा सवारीसाधन, यात्रु तथा दैनिक उपभोग्य वस्तु नदी वारपार गराउन फेरीमा निर्भर हुनुपर्ने अवस्था छ ।
























