आज विश्व हात धुने दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
वि.सं.२०८३ असोज २९ बिहीवार ०७:२१
shares

काठमाडौं । आज अक्टोबर १५, विश्व हात धुने दिवस। साबुनपानीले सही तरिकाले हात धुने बानी विकास गर्न र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले प्रत्येक वर्ष यो दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइन्छ।
यस वर्षको अन्तर्राष्ट्रिय अभियानको नारा ‘हात धुने हिरो’ रहेको छ। नेपाललगायत विभिन्न देशमा पनि ‘सफा हात हाम्रै वशमा’ र ‘हाम्रो भविष्य हाम्रै हातमा छ’ जस्ता नारामार्फत जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिन्छन्।
साबुनपानीले नियमित रूपमा हात धुँदा झाडापखाला, रुघाखोकी, हैजा तथा विभिन्न सरुवा रोगको जोखिम कम गर्न सकिन्छ। त्यसैले व्यक्तिगत सरसफाइलाई दैनिक जीवनको अभिन्न हिस्सा बनाउन यो दिवसले महत्त्वपूर्ण सन्देश दिने गरेको छ।
बालबालिका, विद्यालयका विद्यार्थी तथा समुदायस्तरमा सरसफाइसम्बन्धी बानी विकास गराउनु दिवसको प्रमुख उद्देश्य हो। विशेषगरी खाना खानुअघि र शौचालय प्रयोग गरेपछि साबुनपानीले हात धुने बानी बसाल्न प्रोत्साहित गरिन्छ।
हातको उचित सरसफाइले रोगको संक्रमण रोक्न, समग्र स्वास्थ्यमा सुधार ल्याउन र उपचारमा लाग्ने अनावश्यक खर्च घटाउन सहयोग पुर्याउँछ।
यस अवसरमा विभिन्न विद्यालय, स्वास्थ्य संस्था तथा सामाजिक संस्थाले साबुनपानीले हात धुने सही तरिकाबारे जानकारी दिनुका साथै जनचेतनामूलक कार्यक्रम आयोजना गरी दिवस मनाउने गर्छन्।
























