काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित

777
shares

खोटाङ । साकेला गाउँपालिकाले चाडपर्वलाई लक्षित गर्दै लाभग्राहीको टोल–टोलमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ । भौगोलिक विकटताका कारण गाउँपालिकाको केन्द्रसम्म पुगेर सामाजिक सुरक्षाभत्ता बुझ्न कठिन हुने लाभग्राहीका लागि वडास्तरमा भुक्तानी शिविर सञ्चालन गरेर ७९५ जना लाभग्राहीलाई उनीहरूकै टोलमा लगेर सामाजिक सुरक्षाभत्ता वितरण गरेको हो ।

गाउँपालिकाको सामाजिक सुरक्षा शाखा र नेपाल एसबिआई बैंक साकेला शाखाको संयुक्त आयोजनामा यही असोज–२२ गतेदेखि सामाजिक सुरक्षाभत्ता वितरण शिविरमा सञ्चालन गरिएको थियो । सामाजिक सुरक्षाभत्ता भुक्तानी शिविरमार्फत बैंकिङ प्रणालीबाट कूल ९५ लाख ७७ हजार सामाजिक सुरक्षाभत्ता वितरण गरिएको सामाजिक सुरक्षा शाखा प्रमुख डिएम चाम्लिङ राईले जानकारी दिएको छन् ।

शिविर वडा नं १ बाँझेच्यानडाँडाका तीन स्थानबाट रु ३८ लाख ९० हजार, वडा नं २ रतन्छाबाट २३ लाख ९८ हजार, वडा नं ३ खिदिमाबाट १५ लाख ९६ हजार र वडा नं ५ मात्तिमबिर्ताबाट १६ लाख ९३ हजार वितरण गरिएको छ । गाउँपालिकाका कूल लाभग्राहीमध्ये करिब ७० प्रतिशत लाभग्राहीले वडा तथा बस्तीबाटै सामाजिक सुरक्षाभत्ता प्राप्त गरेको शाखा प्रमुख चाम्लिङले जानकारी दिए ।

वडास्तरमै सामाजिक सुरक्षाभत्ता वितरण गरिएपछि विशेषगरी शारीरिक अशक्तता भएका व्यक्ति, अपाङ्गता भएका नागरिक तथा टाढाका बस्तीमा बसोवास गर्ने लाभग्राहीलाई राहत पुगेको स्थानीयले बताएका छन् । भुक्तानी शिविरमा जान नपाएका लाभग्राहीले एसबिआई बैंकको साकेला शाखामा उपस्थित भएर रकम बुझिरहेका छन् ।

सामाजिक सुरक्षा भत्तालाई सहज, सरल र सम्मानजनक रूपमा लाभग्राहीसम्म पुर्‍याउने जिम्मेवारी स्थानीय सरकारको भएकाले हरेक वडामा भुक्तानी शिविर आयोजना गरिएको गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताएको छन् । “लाभग्राहीले आफ्नो भत्ता बुझ्नका लागि घण्टौँ हिँड्नुपर्ने, गाडी भाडा खर्च गर्नुपर्ने र शारीरिक कष्ट भोग्नुपर्ने अवस्थाको अन्त्य गर्न हामीले वडास्तरमै शिविर सञ्चालन गरेका हौँ । नागरिकले सरकार खोज्दै कार्यालयसम्म आउनुपर्ने होइन, सरकारले नागरिकको अवस्थाअनुसार सेवा लिएर उनीहरूकै घरआँगनसम्म पुग्नुपर्छ भन्ने हाम्रो मान्यता हो”, उनले भने, “चाडपर्वको समयमा नागरिकलाई आर्थिक रूपमा सहजता प्रदान गर्न र सामाजिक सुरक्षाभत्ता वितरणलाई थप प्रभावकारी बनाउन गाउँपालिकाले प्राथमिकताका साथ काम गरिरहेको छ । सामाजिक सुरक्षाभत्ता वितरणसँगै नवीकरण शिविर, घरदैलो अभियान तथा अन्य सेवामार्फत लाभग्राहीको पहुँचमा सेवा पुर्‍याउने प्रयास गरिरहेका छौँ ।”

गाउँपालिका र नेपाल एसबिआई बैङ्कबीच वर्षमा तीनपटक सामाजिक सुरक्षाभत्ता नागरिकको पहुँचमा पुग्ने गरी वितरण गर्ने सम्झौता भएको छ । शिविरमा बैंकका शाखा प्रतिनिधि राम विश्वास मेहतासहित गाउँपालिकाका कर्मचारी तथा नेपाल प्रहरीको टोली सहभागी थिए ।

गाउँपालिकाले नागरिकको समय, श्रम र खर्च बचत गर्दै सामाजिक सुरक्षा सेवालाई थप पहुँचयोग्य बनाउने उद्देश्यले यस्ता कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ । जिल्लाको सबैभन्दा सानो स्थानीय तह (पाँच वडा रहेको) यो गाउँपालिकाले हरेक वर्ष सामाजिक सुरक्षाभत्ता वितरण गर्न शिविर सञ्चालन गर्दै आएको छ ।