ग्रीनसिटी हस्पिटल बन्यो कर्णाली याक्सको मेडिकल पार्टनर
वि.सं.२०८३ असोज २७ मंगलवार १५:०९
shares

सारांश
- नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्स र ग्रीनसिटी हस्पिटल प्रालिबीच सम्झौता भएको छ।
- सम्झौतासँगै एनपिएल सिजन ३ को लागि ग्रीनसिटी हस्पिटल कर्णाली याक्सको अफिसियल मेडिकल पार्टनरको रूपमा रहनेछ।
- एनपिएलको तेस्रो संस्करण अक्टोबर २६ देखि सुरु हुँदैछ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्स र ग्रीनसिटी हस्पिटल प्रालिबीच सम्झौता भएको छ।
सम्झौतापत्रमा कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्ल र ग्रीनसिटी हस्पिटल प्रालिका अध्यक्ष लोकबहादुर टण्डनबीच सम्झौता भएको छ। सम्झौतासँगै एनपिएल सिजन ३ को लागि ग्रीनसिटी हस्पिटल कर्णाली याक्सको अफिसियल मेडिकल पार्टनरको रूपमा रहनेछ।
सम्झौतापछि कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्लले खेलाडीको स्वास्थ्य र शारीरिक तन्दुरुस्ती टोलीको प्रदर्शनसँग प्रत्यक्ष जोडिने बताए।
उनले भने, ‘प्रतिस्पर्धात्मक क्रिकेटमा खेलाडीको स्वास्थ्य, फिटनेस र चोटपटकबाट सुरक्षित पुनरागमन निकै महत्वपूर्ण हुन्छ। ग्रीनसिटी हस्पिटलसँगको सहकार्यले खेलाडीलाई आवश्यक मेडिकल सहयोग उपलब्ध गराउन मद्दत पुग्नेछ। खेलाडीको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने वातावरण तयार गर्नु हाम्रो उद्देश्य हो।’
ग्रीनसिटी हस्पिटलका अध्यक्ष टण्डनले कर्णाली याक्ससँगको सहकार्यलाई खेलाडीको स्वास्थ्य र नेपाली क्रिकेटको विकासमा योगदान पुर्याउने अवसरका रूपमा लिएको बताए। उनले भने, ‘खेलाडीको स्वास्थ्य र सुरक्षित खेल वातावरण निर्माणमा मेडिकल सहयोगको महत्वपूर्ण भूमिका हुन्छ। कर्णाली याक्ससँगको सहकार्यले खेलकुद क्षेत्रसँग हाम्रो सम्बन्ध थप मजबुत बनाउने र खेलाडीको स्वास्थ्य सुरक्षामा योगदान पुर्याउने विश्वास लिएका छौँ।’
एनपिएलको तेस्रो संस्करण अक्टोबर २६ देखि सुरु हुँदैछ। प्रतियोगिताका लागि कर्णाली याक्सले विदेशी खेलाडीका रूपमा इङ्ग्ल्यान्डका मार्क वाट तथा बंगगलादेशका अकबर अली र अरिफुल इस्लामलाई अनुबन्ध गरिसकेको छ।
























