नेपथ्य कन्सर्टमा TVS NTORQ 150 सार्वजनिक, मूल्य ३ लाख ६९ हजार ९०० रुपैयाँ
वि.सं.२०८३ असोज २६ सोमवार १२:५३
shares

काठमाडौं। जगदम्बा मोटर्स प्रा.लि.ले नेपालको पहिलो १५० सीसी हाइपर स्पोर्ट स्कुटरका रूपमा TVS NTORQ 150 सार्वजनिक गरेको छ। कम्पनीले अक्टोबर १० मा कीर्तिपुरस्थित ल्याबोरेटरी स्कुल ग्राउन्डमा आयोजित ‘नेपथ्य लाइभ इन कीर्तिपुर’ कन्सर्टका क्रममा स्कुटर अनावरण गरेको हो।
नेपालका लागि TVS मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले संगीत, प्रविधि र उच्च प्रदर्शन क्षमताको संयोजन प्रस्तुत गर्ने उद्देश्यले कन्सर्टमार्फत नयाँ स्कुटर सार्वजनिक गरेको जनाएको छ। स्कुटरको मूल्य ३ लाख ६९ हजार ९०० रुपैयाँ तोकिएको छ।
कार्यक्रममा जगदम्बा मोटर्सका प्रमुख सञ्चालन अधिकृत दीपेन्द्र मिश्र र वरिष्ठ मार्केटिङ म्यानेजर करुणा पुडासैनीले संयुक्त रूपमा स्कुटर अनावरण गरेका थिए। कार्यक्रममा स्कुटरका विशेषता प्रस्तुत गर्नुका साथै लोमान्थाङसम्मको यात्रालाई समेटिएको भिडियोसमेत प्रदर्शन गरिएको थियो।
कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख सञ्चालन अधिकृत मिश्रले नेपाली बजारमा नवीन प्रविधि र उत्कृष्ट राइडिङ अनुभव प्रदान गर्ने प्रतिबद्धताअनुसार NTORQ 150 सार्वजनिक गरिएको बताए।
उनले स्कुटरमा शक्ति, प्रविधि, सुरक्षा र आकर्षक डिजाइनको संयोजन रहेको उल्लेख गर्दै यसले नेपाली बजारमा पर्फर्मेन्स स्कुटरको अनुभवलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे।
त्यस्तै, वरिष्ठ मार्केटिङ म्यानेजर पुडासैनीले दैनिक यात्राभन्दा फरक, रोमाञ्चक र प्रविधिमैत्री अनुभव खोज्ने युवालाई लक्षित गरेर स्कुटर ल्याइएको बताइन्। उनका अनुसार स्कुटरमा शक्तिशाली इन्जिन, विभिन्न राइडिङ मोड र आधुनिक सुरक्षा सुविधाहरू समावेश छन्।
TVS NTORQ 150 का विशेषता
नयाँ TVS NTORQ 150 मा १४९.७ सीसी क्षमताको तीन भल्भयुक्त इन्जिन छ। कम्पनीका अनुसार यसले १३.२ पीएस पावर र १४.२ एनएम टर्क उत्पादन गर्छ। स्कुटरले ६.३ सेकेन्डमा शून्यदेखि ६० किलोमिटर प्रतिघण्टाको गति लिन सक्ने तथा यसको अधिकतम गति १०४ किलोमिटर प्रतिघण्टा रहेको दाबी गरिएको छ।
स्कुटरमा ट्र्याक्सन कन्ट्रोल, सिंगल च्यानल एबीएस, स्ट्रिट र रेस राइडिङ मोड, हाइब्रिड टीएफटी–एलसीडी डिस्प्ले तथा स्मार्ट कनेक्टिभिटीजस्ता सुविधा छन्।
TVS NTORQ 150 स्टेल्थ सिल्भर, रेसिङ रेड र टर्बो ब्लु गरी तीन रङमा उपलब्ध हुने कम्पनीले जनाएको छ। यसको मूल्य ३ लाख ६९ हजार ९०० रुपैयाँ तोकिएको छ।
नेपथ्यको प्रस्तुतिसँग स्कुटरको अनावरण
कार्यक्रममा नेपाली लोक–रक ब्यान्ड नेपथ्यले आफ्ना लोकप्रिय गीत प्रस्तुत गरेको थियो। रमाइलो इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको कन्सर्टमा TVS NTORQ 150 टाइटल स्पोन्सरका रूपमा सहभागी थियो।
‘This Isn’t Hype. This Is Hyper Performance.’ नारासहित सार्वजनिक गरिएको स्कुटरमार्फत युवा पुस्तालाई लक्षित गर्दै उच्च प्रदर्शन क्षमता र आधुनिक प्रविधिको अनुभव प्रदान गर्ने कम्पनीको लक्ष्य छ।
जगदम्बा मोटर्स प्रा.लि. नेपालका लागि TVS मोटर कम्पनीको आधिकारिक वितरक हो। कम्पनीले देशभरका डिलर तथा सर्भिस नेटवर्कमार्फत मोटरसाइकल र स्कुटर बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ।
























