हिमालयन बुलियनको ‘HBC App’ सार्वजनिक, अब किस्ताबन्दीमा वास्तविक चाँदी किन्न सकिने
वि.सं.२०८३ असोज २६ सोमवार १२:४६
shares

काठमाडौं। चाँदी प्रशोधन तथा कारोबारमा २६ वर्षको अनुभव बोकेको हिमालयन बुलियन कम्पनी लिमिटेडले ‘HBC App’ सार्वजनिक गरेको छ। एपमार्फत ग्राहकले आफूलाई अनुकूल रकम र समयमा चरणबद्ध भुक्तानी गरेर वास्तविक चाँदीका सिक्का तथा बार खरिद गर्न सक्नेछन्।
सन् २००० मा स्थापना भएको कम्पनीले एन्ड्रोइड र आईओएस प्रयोगकर्तालाई लक्षित गर्दै नयाँ मोबाइल एप सार्वजनिक गरेको हो। यसबाट ग्राहकले एकैपटक ठूलो रकम खर्च नगरी आफ्नो क्षमताअनुसार चाँदी खरिद गर्न सक्ने कम्पनीले जनाएको छ। खरिदका लागि तोकिएको सम्पूर्ण रकम भुक्तानी भएपछि चाँदी ग्राहकको स्वामित्वमा आउनेछ।
एप सार्वजनिक गर्ने अवसरमा कम्पनीले ग्राहकका लागि दुई विशेष सुविधा पनि घोषणा गरेको छ। एसियन लाइफ इन्स्योरेन्स र एचबीसीबीचको सहकार्यमा एपका सबै ग्राहकलाई १० लाख रुपैयाँसम्मको व्यक्तिगत दुर्घटना बीमा सुरक्षा उपलब्ध गराइने कम्पनीले जनाएको छ। त्यस्तै, तिहारसम्म सञ्चालन हुने लक्की ड्रमार्फत एक भाग्यशाली ग्राहकले टेस्ला मोडल वाई विद्युतीय कार जित्ने अवसर पाउनेछन्।
एचबीसीका अध्यक्षले चाँदी खरिदलाई सहज बनाउने उद्देश्यले एप ल्याइएको बताए। ‘चाँदी किन्नका लागि पहिलेदेखि नै पैसा बचत गर्दै आउनुपर्थ्यो। अब आफूसँग जति रकम उपलब्ध छ, त्यतिबाटै आजै सुरुवात गर्न सकिन्छ। अन्त्यमा ग्राहकले पाउने भनेको कुनै डिजिटल अंक होइन, हाम्रो भल्टमा सुरक्षित राखिएको वास्तविक चाँदी हो, जुन हामी स्वयं ग्राहकको हातमा हस्तान्तरण गर्छौँ,’ उनले भने।
कसरी काम गर्छ HBC App?
एप प्रयोग गर्न ग्राहकले पहिले खाता खोली ग्राहक पहिचान प्रक्रिया (केवाईसी) पूरा गर्नुपर्नेछ। त्यसपछि एपमा दैनिक चाँदीको खरिद मूल्य र कम्पनीले पुनः खरिद गर्ने दर हेर्न सकिनेछ। ग्राहकले १०, २०, ५० वा १०० ग्रामका चाँदीका सिक्का तथा ५०० ग्राम वा सोभन्दा माथिका चाँदीका बार खरिद गर्ने लक्ष्य छनोट गर्न सक्नेछन्। एकपटकमा अधिकतम तीनवटा खरिद लक्ष्य सक्रिय राख्न सकिने कम्पनीले जनाएको छ। ५०० ग्राम वा सोभन्दा माथिका चाँदीका बारमा बनाउने शुल्क नलाग्ने व्यवस्था पनि गरिएको छ।
भुक्तानीका लागि ग्राहकले एक ग्राम चाँदी बराबरको रकम, कुल मूल्यको ५ प्रतिशत वा सम्पूर्ण रकम एकैपटक तिर्न सक्नेछन्। सम्पूर्ण रकम भुक्तानी नहुँदासम्म छनोट गरिएको चाँदी कम्पनीको भल्टमा सुरक्षित राखिनेछ। एप सार्वजनिक भएको अवसरमा भल्ट शुल्क निःशुल्क गरिएको कम्पनीले जनाएको छ।
सम्पूर्ण भुक्तानी पूरा भएपछि ग्राहकले आइतबारका लागि समय बुक गरेर चाँदी संकलन गर्न सक्नेछन्। संकलन गरिसकेपछि एपमा आफ्नो चाँदीको वर्तमान मूल्यसमेत हेर्न सकिनेछ। चाँदी संकलन गरेको तीन दिनपछि कम्पनीले प्रकाशित गरेको प्रचलित पुनः खरिद दरमा उक्त चाँदी कम्पनीलाई बिक्री गर्न सकिने व्यवस्था छ।
एचबीसी एपका सबै ग्राहकलाई १० लाख रुपैयाँसम्मको व्यक्तिगत दुर्घटना बीमा सुरक्षा उपलब्ध गराइने कम्पनीले जनाएको छ। यो सुविधा सम्बन्धित बीमालेखका सर्त, सीमा र प्रावधानअनुसार लागू हुनेछ।
त्यस्तै, तिहारसम्म एपमार्फत गरिएका प्रत्येक पूर्ण खरिदलाई लक्की ड्रमा एउटा प्रवेशका रूपमा गणना गरिनेछ। एकभन्दा बढी खरिद पूरा गर्ने ग्राहकले प्रत्येक खरिदबापत छुट्टाछुट्टै प्रवेश पाउनेछन्। योजनाको अन्त्यमा योग्य प्रवेशमध्येबाट पारदर्शी गोलाप्रथामार्फत एक विजेता छनोट गरी टेस्ला मोडल वाई विद्युतीय कार प्रदान गरिने कम्पनीले जनाएको छ। योजनाको अन्तिम मिति, योग्यता र विजेता छनोटसम्बन्धी विस्तृत व्यवस्था कम्पनीले सार्वजनिक गर्ने आधिकारिक सर्तअनुसार हुनेछ।
कम्पनीका अनुसार HBC App कुनै ट्रेडिङ प्लेटफर्म वा निश्चित प्रतिफल दिने लगानी योजना होइन। यो भौतिक चाँदीका उत्पादन चरणबद्ध रूपमा भुक्तानी गरेर खरिद गर्ने माध्यम हो। यसमा निश्चित प्रतिफलको वाचा गरिएको छैन। ग्राहकले अन्ततः आफ्नै स्वामित्वमा वास्तविक चाँदी प्राप्त गर्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
एप एन्ड्रोइडका लागि गुगल प्ले स्टोर र आईओएसका लागि एप्पल एप स्टोरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। एपमार्फत ग्राहकले खाता खोल्न, चाँदीको मूल्य हेर्न, खरिद लक्ष्य निर्धारण गर्न र चरणबद्ध भुक्तानी गर्न सक्नेछन्।
हिमालयन बुलियन कम्पनीबारे
सन् २००० मा स्थापना भएको हिमालयन बुलियन कम्पनी लिमिटेड काठमाडौंमा आधारित चाँदी प्रशोधन तथा बिक्री–वितरण गर्ने कम्पनी हो। कम्पनीले आफ्नै उत्पादन प्रक्रियामार्फत विशिष्ट सिरियल नम्बर भएका चाँदीका बार उत्पादन गर्दै आएको छ। बहुमूल्य धातु क्षेत्रसम्बन्धी नीतिगत छलफल तथा चाँदीको आयात भन्सार महसुल सुधारका विषयमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएको कम्पनीले जनाएको छ।
२६ वर्षको अनुभवलाई डिजिटल प्रविधिसँग जोड्दै वास्तविक चाँदीको स्वामित्वलाई सहज र सर्वसुलभ बनाउने उद्देश्यले HBC App सार्वजनिक गरिएको कम्पनीको भनाइ छ।
























