एक्स्ट्रिम इनर्जी ड्रिंक्सका होर्डिङ बोर्ड अनधिकृत र मापदण्डविपरित
वि.सं.२०८३ असोज २६ सोमवार ११:५७
shares

काठमाडौं । आक्रमक प्रचारप्रसार गरिरहेको एक्स्ट्रिम इनर्जी ड्रिंक्सले काठमाडौं महानगरका केही स्थानमा मापदण्डविपरित बोर्डहरु राखेको पाइएको छ ।
विशेषगरी काठमाडौंको सिंनामगल, पूरानो बानेश्वर साथै वडा नम्बर ३१ का विभिन्न स्थानमा त्यस्ता बोर्डहरु भेटिएका हुन् । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र व्यवसायीक विज्ञापन गर्दा निश्चित मापदण्ड लागू गरेपनि एक्स्ट्रिम इनर्जी ड्रिंक्स त्यस्ता बोर्डहरु हटाएको छैन् ।
काठमाडौं महानगरका सूचना अधिकारी नूरनिधि न्यौपानेका अनुसार महानगरले सहरका व्यवसायिक पहिचानका राखिएका अनधिकृत बोर्डहरु हटाइसकेको बताए । त्यस्तो अनधिकृत रुपमा राखिएको पाए तुरुन्तै हटाउन सम्बन्धित वडा कार्यालयमार्फत काम अगाडि बढाउने गरेको उनले बताए । ‘डिजिटलबाहेक अन्य बोर्डहरु राख्न अनुमति दिने काम सम्बन्धित वडाले गर्छ । आवश्यक विषय उतै बुझ्नुहोला,’ उनले भने ।
महानगर ३१ का वडा सचिव सुरेस साहू श्रेष्ठले अनुमति विना बोर्ड राख्न नपाउने तर पाइएको खण्डमा तुरुन्त हटाइने प्रतिक्रिया दिए ।
यता, एक्स्ट्रिम इनर्जी ड्रिंक्सकी दिक्षा थापाले आफूहरुले काठमाडौं महानगरभित्रका सम्पूर्ण बोर्डहरु हटाएको र बोर्ड राख्ने अभियान तत्काललाई स्थगित गरिएको जानकारी दिइन् । उनले भनिन्,‘तत्काललाई हामीले बोर्डहरु राख्ने काम रोकेका छौं । आगामी एनपीएलमा मात्र प्रचारप्रसारमा खटिने छौं ।’
महानगरले आर्थिक ऐन २०७९ बमोजिम होडिङ बोर्ड राख्न निश्चित मापदण्ड तोकेको छ । महानगरले सम्पत्ति कर, घरबहाल घर, व्यवसाय कर, विज्ञापन कर, मनोरञ्जन कर, भूमिकर, मूल्य अभिवृद्धि कर र सवारी साधन करसहित ३६ शीर्षकमा राजस्व असुल गर्दै आएको छ ।
























