सञ्चार क्षेत्रका लागि बलियो नियामक संयन्त्र आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना
वि.सं.२०८३ असोज १९ सोमवार १५:५८
shares

सारांश
- सञ्चार तथा पत्रकारिता क्षेत्रलाई व्यवस्थित, जिम्मेवार, व्यावसायिक र प्रभावकारी बनाउन बलियो तथा अधिकार सम्पन्न नियामक संयन्त्र आवश्यक
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सञ्चार तथा पत्रकारिता क्षेत्रलाई व्यवस्थित, जिम्मेवार, व्यावसायिक र प्रभावकारी बनाउन बलियो तथा अधिकार सम्पन्न नियामक संयन्त्र आवश्यक रहेको बताएका छन् ।
बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटा, गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारी र मधेश प्रदेश आमसञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्रकुमार खड्गासँग सोमबार मन्त्रालयमा भएको भेटघाट तथा छलफलमा उनले सञ्चार क्षेत्रको नियमनलाई प्रभावकारी बनाउन नयाँ कानुनी तथा संस्थागत व्यवस्था गर्न लागिएको बताए ।
सञ्चारमन्त्री डा तिमिल्सिनाले सञ्चारमाध्यमको स्वतन्त्रता कायम राख्दै पत्रकारिता क्षेत्रलाई थप जिम्मेवार र व्यावसायिक बनाउन नियामकीय संयन्त्र प्रभावकारी हुनुपर्नेमा जोड दिए । पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन, सञ्चारमाध्यमको जिम्मेवारी तथा नियमनका विषयलाई स्पष्ट र व्यवस्थित बनाउनुपर्ने उनको भनाइ थियो ।
उनले सञ्चार क्षेत्रको नियमनका लागि प्रस्तावित प्रेस काउन्सिल विधेयक र आमसञ्चार विधेयकमार्फत नियामक निकायलाई अधिकार सम्पन्न, प्रभावकारी र कार्यान्वयनयोग्य बनाउनुपर्ने बताए । नियमन गर्ने संस्थालाई प्रभावकारी बनाउँदै सञ्चार तथा पत्रकारिता क्षेत्रका विद्यमान समस्या समाधान गर्न सक्ने संस्थागत संरचना विकास गर्न सरकार तयार रहेको उनले बताए ।
सञ्चारमन्त्री डा तिमिल्सिनाले आमसञ्चारसम्बन्धी विधेयक संसद् तथा संसदीय समितिमा पर्याप्त छलफलपछि आवश्यक परिमार्जनसहित बलियो र कार्यान्वयनयोग्य ऐनका रूपमा आउने विश्वास व्यक्त गरे ।






















