काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

520
shares

ai logo सारांश

  • अपाङ्ग छोरालाई बोकेर पुगे
  • तीन घण्टा हिँडेर नागरिकता
  • राप्ती–१२ बाट २८ जनाले नागरिकता प्राप्त गरेका छन्।

चितवन – विकट चेपाङ बस्तीका नागरिकलाई नागरिकता प्रदान गर्न जिल्ला प्रशासन कार्यालय चितवनको टोलीले पहिरो, भिर र जोखिमपूर्ण बाटो पार गर्दै गाउँमै पुगेर सेवा दिएको छ। राप्ती नगरपालिका–१२ र १३ मा पुगेको प्रशासनको टोलीले एकै दिन ११२ जनालाई नागरिकता वितरण गरेको हो।

राप्ती–११ को बेलडाँडादेखि माथिल्लो क्षेत्रमा जाने सडक पहिरोका कारण अवरुद्ध थियो। एकातिर भिर र अर्कोतिर लोथर खोला रहेको जोखिमपूर्ण बाटो पार गर्दै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको नेतृत्वमा टोली गाउँ पुगेको थियो। टोलीमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक चन्द्रभुसन यादव, अनुसन्धान कार्यालयका प्रमुख सुरेश तिवारी, प्रशासन तथा निर्वाचन कार्यालयका कर्मचारी, सुरक्षाकर्मी र पत्रकार सहभागी थिए।

स्थानीयका लागि भने यही जोखिमपूर्ण बाटो दैनिक जीवनको बाध्यता बनेको छ। बिरामी पर्दा स्वास्थ्य संस्था पुग्न, सरकारी सेवा लिन, बजार जान तथा बालबालिकालाई विद्यालय पठाउनसमेत उनीहरूलाई कठिन भूगोल पार गर्नुपर्छ। यही कारण धेरै नागरिक वर्षौंसम्म नागरिकताबाट वञ्चित हुँदै आएका थिए।

राप्ती–१३ की विष्णुमाया प्रजाले ७२ वर्षको उमेरमा पहिलोपटक नागरिकता प्राप्त गरिन्। नागरिकता पाएपछि प्रमुख जिल्ला अधिकारी अर्यालले अब उनले मासिक सामाजिक सुरक्षा भत्ता पाउने जानकारी गराए। सुरुमा कुरा बुझ्न नसकेकी विष्णुमायालाई वडाध्यक्ष अशोककुमार प्रजाले स्थानीय भाषामै सम्झाएका थिए।

परिवारका अन्य सदस्यले नागरिकता बनाए पनि आफूले बनाउन आवश्यक नठानेको बताउँदै उनले नागरिकता पाएपछि खुसी लागेको प्रतिक्रिया दिइन्।

सोही दिन राप्ती–१३ का ८४ जनाले नागरिकता प्राप्त गरेका थिए। वडाध्यक्ष प्रजाका अनुसार नागरिकता लिनेमा ज्येष्ठ नागरिक र महिलाको संख्या उल्लेख्य थियो।

अपाङ्ग छोरालाई बोकेर पुगे
राप्ती–१३ का भीमबहादुर प्रजा अपाङ्ग छोरालाई बोकेर वडा कार्यालय पुगे। सदरमुकामसम्म पुगेर नागरिकता बनाउन कठिन हुने अवस्थामा गाउँमै प्रशासनको टोली पुगेपछि आफूलाई ठूलो राहत मिलेको उनले बताए।

तीन घण्टा हिँडेर नागरिकता
सिताबहादुर प्रजा छोरा रावण र बुहारी सविताको नागरिकता बनाउन करिब तीन घण्टा पैदल हिँडेर वडा कार्यालय पुगेका थिए। भरतपुरसम्म पुग्दा खर्च र समय दुवै धेरै लाग्ने भएकाले गाउँमै सेवा पाउँदा सहज भएको उनले बताए।

नागरिकतासँगै मतदाता परिचयपत्रका लागि फोटो खिचाउने अवसरसमेत पाउँदा आफू थप खुसी भएको उनको भनाइ थियो।

त्यस्तै, राप्ती–१२ का बाबुलाल प्रजाले २७ वर्षको उमेरमा नागरिकता प्राप्त गरे। प्रशासनमा कसलाई भेट्ने र प्रक्रिया कसरी पूरा गर्ने भन्ने जानकारी नभए पनि गाउँमै आवश्यक सहयोग पाएपछि नागरिकता बनाउन सहज भएको उनले बताए।

राप्ती–१२ बाट २८ जनाले नागरिकता प्राप्त गरेका छन्।

बाटोमै बन्यो नागरिकता
राप्ती–१३ मा सेवा सकेर टोली फर्किने क्रममा दुई महिला साना बच्चा बोकेर नागरिकता बनाउन आइपुगे। वडा कार्यालयबाट टोली हिँडिसकेपछि उनीहरू झोलुङ्गे पुलनजिक भेटिएका थिए।

उनीहरूलाई फर्काउनुको सट्टा बाटोमै सेवा दिने निर्णय गर्दै प्रशासनको टोलीले ल्यापटपमार्फत आवश्यक विवरण तयार गरी त्यहीँ नागरिकता वितरण गरेको थियो। प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार कालीटारबाट फर्किने क्रममा झोलुङ्गे पुलमै उनीहरूलाई नागरिकता प्रदान गरिएको हो।

नागरिकतासँगै मतदाता परिचयपत्रको प्रक्रिया
जिल्ला निर्वाचन कार्यालय चितवनको टोली पनि प्रशासनसँगै गाउँ पुगेको थियो। कार्यालय प्रमुख भीमसेन कार्कीका अनुसार राप्ती–१३ मा नागरिकता प्राप्त गरेका योग्य नागरिकको मतदाता परिचयपत्रका लागि आवश्यक प्रक्रिया पनि त्यहीँ पूरा गरिएको थियो।

जिल्ला प्रशासन र निर्वाचन कार्यालयसम्म पुग्न नसकेका चार जनाको मतदाता परिचयपत्रसमेत गाउँमै बनाइएको उनले बताए। राप्ती–१२ मा भने विद्युत् अभाव र प्राविधिक समस्याका कारण केही काम बाँकी रहेको उनको भनाइ छ।

‘चितवनमै कर्णालीजस्तै विकट भूगोल’
जिल्ला प्रशासन कार्यालय चितवनकी नागरिकता फाँटका प्रशासकीय अधिकृत अन्तिम सिजाली मगरले चितवनमै यति विकट भूगोल रहेको प्रत्यक्ष गाउँ पुगेर मात्र अनुभूति भएको बताइन्।

उनका अनुसार राप्तीको माथिल्लो भेग कर्णालीजस्तै विकट छ। नागरिकता बनाउनसमेत स्थानीयले ठूलो दुःख र जोखिम मोल्नुपरेको देख्दा आफू भावुक भएको उनले बताइन्।

‘पहिले ओडार, अहिले जस्ताका घर’
चेपाङ समुदायसँग दुई दशकदेखि काम गर्दै आएका समाजसेवी तथा पत्रकार केपी किरण शर्माले विगतको तुलनामा राप्तीको माथिल्लो क्षेत्रमा धेरै परिवर्तन आएको बताए।

उनका अनुसार पहिले लोथर खोलाको बाटो हुँदै पैदल पुग्नुपर्ने ठाउँमा अहिले सवारीसाधन पुग्न थालेका छन्। यद्यपि सडकको स्तरोन्नति नहुँदा स्थानीय उत्पादन बजारसम्म पुर्‍याउन अझै कठिनाइ रहेको उनले बताए।

वडाध्यक्ष अशोककुमार प्रजाका अनुसार नागरिकताविहीन नागरिकको विवरण गाउँगाउँबाट संकलन गरी जिल्ला प्रशासन कार्यालयमा पठाइएपछि प्रशासनको टोली गाउँमै पुगेर सेवा दिन सफल भएको हो। नागरिकता पाएपछि स्थानीयलाई विभिन्न सरकारी सेवा, सामाजिक सुरक्षा तथा अन्य राज्यका सुविधामा पहुँच सहज हुने उनले बताए।