गृहपृष्ठ आन्तरिक वायुसेवा दायित्वसम्बन्धी विधेयक पारित गर्न सांसदहरूको जोड

आन्तरिक वायुसेवा दायित्वसम्बन्धी विधेयक पारित गर्न सांसदहरूको जोड

आन्तरिक वायुसेवा दायित्वसम्बन्धी विधेयक पारित गर्न सांसदहरूको जोड राष्ट्रियसभा बैठक काठमाडौँ, १६ असोजः सिंहदरबारस्थित सङ्घीय संसद भवनमा शुक्रबार बसेको राष्ट्रियसभा बैठक । तस्बिरः प्रदीपराज वन्त/रासस

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले हवाई यात्रुलाई सुरक्षित, भरपर्दो र गुणस्तरीय सेवा उपलब्ध गराउन तथा दुर्घटना, उडान स्थगन र यात्रा अवरोधबाट यात्रु तथा तेस्रो पक्षमा पुग्ने क्षतिको दायित्व सुनिश्चित गर्न ‘आन्तरिक वायुसेवा दायित्वसम्बन्धी विधेयक २०८३’ कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिएका छन् ।

बैठकमा विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद खम्मबहादुर खातीले आन्तरिक वायुसेवालाई सुरक्षित, भरपर्दो, गुणस्तरीय तथा जिम्मेवार बनाउन विधेयक महत्त्वपूर्ण रहेको बताए । हवाई यात्रुको अधिकार संरक्षण गर्दै दुर्घटनाबाट हुने चोटपटक, अङ्गभङ्ग तथा मृत्यु र उडान निलम्बन वा यात्रा स्थगनका कारण यात्रु, मालसामान तथा तेस्रो पक्षमा पुग्न सक्ने क्षतिसम्बन्धी कानुनी व्यवस्था गर्न विधेयक ल्याइएको उनले उल्लेख गरे ।

सांसद रामकुमारी झाँक्रीले कानुनलाई भावनाभन्दा कार्यान्वयनयोग्य बनाउनुपर्ने बताइन । वायुसेवा कम्पनीलाई जिम्मेवार बनाएर यात्रुको सुरक्षाको प्रत्याभूति गर्नु आवश्यक रहेको उनको भनाइ छ । विधेयकले नेपाली आकाश सुरक्षित छ भन्ने विषयमा सम्बोधन गर्ने सांसद झाँक्रीले विश्वास व्यक्त गरिन । विधेयकमाथि समितिले गरेका संशोधनमा सरकारले सकारात्मक सहयोग गरेको उल्लेख गर्दै उनले विधेयक पारित गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन ।

सांसद विष्णुबहादुर विश्वकर्माले हवाई सेवामा गर्भवती, बालबालिका, अपाङ्गता भएका व्यक्ति, विपन्न, असहायलगायतलाई प्राथमिकता दिने विषय विधेयकमा समेटेको बताए । व्यापक छलफलपछि विधेयक आएको उल्लेख गर्दै उनले यसलाई पारित गर्न आग्रह गरे ।

सांसद सम्झना देवकोटाले विधेयकमा तोकिएका मापदण्डलाई व्यावहारिक बनाउनुपर्ने बताइन । सेवा तथा मापदण्डसम्बन्धी सूचना वेबसाइटमा मात्रै नभई नेपाल राजपत्र तथा स्थानीय पत्रपत्रिकामार्फतसमेत सार्वजनिक गर्नुपर्ने उनको सुझाव छ ।

सांसद विष्णुकुमारी सापकोटाले हवाई सेवा नियमित नहुँदा यात्रुले विमानस्थलमा लामो समय कुर्नुपर्ने, बास बस्नुपर्ने तथा फर्किनुपर्ने अवस्था रहेको बताइन । दुर्गम क्षेत्रमा मौसम तथा अन्य कारणले नियमित हवाई सेवा सञ्चालन हुन नसक्दा नागरिकले थप कठिनाइ भोग्नुपरेको उनको भनाइ छ । दुर्घटनामा मृत्यु भएका यात्रुका परिवारले वर्षौँसम्म पनि क्षतिपूर्ति नपाउने अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिँदै उनले विधेयकलाई व्यवस्थित रूपमा अघि बढाएर शीघ्र कानुन निर्माण गर्नुपर्ने बताइन ।

सांसद सोमनाथ पोर्तेलले विमानस्थलमा उडान तालिका व्यवस्थापनमा देखिने कमीकमजोरीलाई नियन्त्रण गर्न विधेयकले सहयोग गर्ने विश्वास व्यक्त गरे । उडानको समय केही मिनेट फरक पारेर समेत तालिका बनाउने गरिएको उल्लेख गर्दै उनले व्यवस्थित उडान तालिका आवश्यक रहेको बताए ।

प्रकाशित समय : १५:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु