गृहपृष्ठ छुरा प्रहारबाट घाइते भएका फ्लाईदुबईका पाइलटले जोगाए १७४ यात्रुको ज्यान

छुरा प्रहारबाट घाइते भएका फ्लाईदुबईका पाइलटले जोगाए १७४ यात्रुको ज्यान

छुरा प्रहारबाट घाइते भएका फ्लाईदुबईका पाइलटले जोगाए १७४ यात्रुको ज्यान

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले फ्लाईदुबईका भारतीय पाइलट क्याप्टेन स्मित मच्छरको ‘असाधारण साहस’को प्रशंसा गरेका छन् । दुबईबाट तेल अभिभका लागि उडेको फ्लाईदुबईको एफजेड–१०७३ उडानमा ककपिटभित्र दुई पाइलटबीच विवाद हुँदा एक पाइलटले अर्कालाई छुरा प्रहार गरेको र विमान दुर्घटनातर्फ लैजान खोजेको आरोप लगाइएको छ ।

सो क्रममा घाइते भएका क्याप्टेन मच्छरले प्रतिकार गर्दै विमानमा रहेका १७४ जनाको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेलेको बताइएको छ । नेतान्याहुले सामाजिक सञ्जाल एक्समार्फत मच्छरको साहसको प्रशंसा गर्दै जीवन जोखिममा रहे पनि उनले प्रतिकार गरेर ककपिटको ढोका खोल्न सफल भएको र त्यसपछि यात्रु तथा चालक दलका सदस्यले कथित आक्रमणकारीलाई नियन्त्रणमा लिन सकेको बताएका छन् ।

‘उनले १७४ जनाको ज्यान जोगाए, जसमा इजरायली नागरिक पनि थिए,’ नेतान्याहुले भनेका छन् । उनले घाइते पाइलटको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनलाई ‘सच्चा नायक’को संज्ञा दिएका छन् ।

दुबईबाट तेल अभिभतर्फ आउँदै गरेको विमानले उडानका क्रममा ‘अनलफुल इन्टरफेरेन्स’ अर्थात् गैरकानुनी हस्तक्षेपको संकेत प्रसारण गरेपछि विमानलाई साउदी अरबको तबुक विमानस्थलतर्फ डाइभर्ट गरिएको थियो ।

उडानले सुरुमा अन्तर्राष्ट्रिय आपत्कालीन संकेत ७७०० र त्यसपछि विमान अपहरण वा गैरकानुनी हस्तक्षेप जनाउने ७५०० कोड प्रसारण गरेको फ्लाइट ट्र्याकिङ विवरणलाई उद्धृत गर्दै इजरायली सञ्चारमाध्यमले जनाएका छन् ।

७५०० संकेत प्राप्त भएपछि इजरायली वायुसेनाका लडाकु विमानसमेत उक्त विमानतर्फ पठाइएको थियो । यद्यपि, पछि इजरायली अधिकारीहरूले विमान अपहरण भएको पुष्टि नगरेको जनाइएको छ ।

विमान अन्ततः सुरक्षित रूपमा तबुक विमानस्थलमा अवतरण गरिएको थियो । त्यसपछि यात्रुलाई उद्धार गर्न पठाइएको फ्लाईदुबईको अर्को विमान करिब १८० यात्रुसहित इजरायलको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

रियादस्थित भारतीय दूतावासले क्याप्टेन मच्छरको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै उनी तबुक शहरस्थित अस्पतालमा उपचाररत रहेको जनाएको छ । दूतावासका अनुसार मच्छरको अवस्था स्थिर रहेको र आवश्यक उपचार भइरहेको छ । भारतीय दूतावास र जेद्दास्थित वाणिज्य दूतावासले उनको स्वास्थ्य अवस्थाबारे निरन्तर जानकारी लिइरहेको तथा परिवारसँग सम्पर्कमा रहेको जनाएको छ ।

क्याप्टेन मच्छर फ्लाईदुबईमा प्रत्यक्ष प्रवेशबाट क्याप्टेनका रूपमा कार्यरत अनुभवी पाइलट हुन् । उनले व्यावसायिक उड्डयन क्षेत्रमा १३ वर्षभन्दा बढी अनुभव हासिल गरेका छन् । उनको कुल उडान अनुभव करिब ९ हजार ७५० घण्टा रहेको र अधिकांश समय बोइङ–७३७ विमान उडाएको बताइएको छ । फ्लाईदुबईमा आबद्ध हुनुअघि उनले भारतीय एक एयरलाइन्समा करिब ११ वर्ष काम गरेका थिए । त्यहाँ उनी लाइन ट्रेनिङ क्याप्टेनका रूपमा समेत कार्यरत थिए ।

घटनापछि नेतान्याहुले इजरायली तथा गैरइजरायली विमानको सुरक्षा व्यवस्था थप कडा बनाउन निर्देशन दिएको इजरायली प्रधानमन्त्री कार्यालयका प्रवक्ताले बताएका छन् । नेतान्याहुका अनुसार प्रारम्भिक प्रमाणले फ्लाईदुबईका एक पाइलटले अर्का पाइलटलाई छुरा प्रहार गरेको र विमान दुर्घटना गराउने प्रयास गरेको देखाएको छ । घटनामा संलग्न भनिएका पाइलटसँग साउदी अधिकारीहरूले सोधपुछ गरिरहेका छन् ।

प्रकाशित समय : १०:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु