गृहपृष्ठ आयुर्वेद थेरापीप्रति जनआकर्षण बढ्दै

आयुर्वेद थेरापीप्रति जनआकर्षण बढ्दै

आयुर्वेद थेरापीप्रति जनआकर्षण बढ्दै

झापा – झापामा आयुर्वेद थेरापी सेवाप्रति स्थानीयवासीको आकर्षण बढ्दै गएको छ । गत चार वर्षमा अर्जुनधारा नगरपालिकाको आयुर्वेद शाखाबाट ४६ हजार ९३६ जनाले आयुर्वेद थेरापी सेवा लिएका छन् ।

थेरापीलाई पूर्वपञ्चकर्म पनि भनिन्छ । नगरपालिकाको आयुर्वेद शाखाका अनुसार आर्थिक वर्ष २०७९/८० मा नौ हजार ८५०, आव २०८०/८१ मा नौ हजार ५५३, आव २०८१/८२ मा १३ हजार २४४ र आव २०८२/८३ मा १४ हजार २८९ जनाले उक्त सेवा लिएको कविराज अनिल ठाकुरले जानकारी दिए ।

पक्षाघात, नसासम्बन्धी समस्या, हाडजोर्नी, पिनासलगायतका समस्याबाट प्रभावित बिरामीले आयुर्वेद थेरापी सेवा लिँदै आएका छन् । आयुर्वेद शाखाबाट उपलब्ध गराइएको ओपिडी सेवामार्फत चार वर्षमा ३५ हजार ८०० जनाले उपचार तथा औषधि सेवा लिएका छन् ।

आव २०७९/८० मा आठ हजार ६८५ जना, आव २०८०/८१ मा सात हजार ८८९ जना, आव २०८१/८२ मा नौ हजार ४९२ जना र आव २०८२/८३ मा नौ हजार ७३४ जनाले ओपिडी सेवा लिएका छन् ।

आयुर्वेद स्वास्थ्य शिविरसमेत सञ्चालन हुँदै आएको छ । शिविरबाट पायल्स, फिस्टुलालगायत मलद्वारसम्बन्धी समस्या तथा वाथ, हाडजोर्नी र नसासम्बन्धी समस्या भएका एक हजार ८०० भन्दा बढी बिरामीले उपचार, औषधि र परामर्श सेवा पाइसकेका छन् ।

अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङले नगरपालिकाले आयुर्वेद सेवालाई प्राथमिकतामा राखेको बताउछन । “सबैभन्दा ठूलो कुरा रोग लाग्न नै दिनु हुँदैन”, उनले भने, “लाग्यो भने पनि उचित उपचारका लागि नगरपालिका प्रयासरत छ ।” उनले अव्यवस्थित जीवनशैलीका कारण रोगको जोखिम बढ्दै गएकाले जीवनशैलीलाई व्यवस्थित गर्दै उचित खानपानमा ध्यान दिनुपर्नेमा जोड दिए ।

अर्जुनधारा–३ खुदुनाबारीमा आयुर्वेद गाउँघर क्लिनिक तथा पूर्वपञ्चकर्म (थेरापी) सेवा नियमित सञ्चालन हुँदै आएको छ । हाल औषधालयबाट दैनिक ४० देखि ४५ जनासम्म बिरामीले पूर्वपञ्चकर्म, स्वास्थ्य परीक्षण, औषधि वितरण तथा परामर्श सेवा लिँदै आएका छन् ।

आयुर्वेद शाखाले उपचारसँगै रोगको रोकथाम र स्वस्थ जीवनशैली प्रवर्द्धनलाई प्राथमिकता दिएको छ । गत चार आर्थिक वर्षमा वडा तहमा आयुर्वेद तथा स्वस्थ जीवनशैलीसम्बन्धी सचेतनामूलक अभिमुखीकरण तथा भान्सा सुधार कार्यक्रम सञ्चालन गरिएको छ ।

नगरपालिकाअन्तर्गतका विद्यालयका शिक्षक तथा शिक्षिकालाई आयुर्वेद र योग शिक्षासम्बन्धी तालिमसमेत प्रदान गरिएको शाखाले जनाएको छ ।

प्रकाशित समय : ११:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु