काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै

1.26K
shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनःगठनका लागि गठित कार्यदलको एकीकृत प्रतिवेदन ल्याउन नेताहरूबीच सहमतिको प्रयास जारी रहेको छ ।

कार्यदलमा रहेका पदाधिकारीबीच गत भदौ २८ गते काभ्रेपलाञ्चोकको बल्थलीमा भएको छलफलका आधारमा प्रतिवेदनलाई एकीकृत गर्न लागिएको हो । कार्यदलको आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा भएको बैठकमा सहमतिका आधारमा एकीकृत प्रतिवेदन तयार गरेर सचिवायको बैठकमा पेस गर्ने समझदारी भएको एमालेका सचिव महेश बस्नेतले बताए।

सचिव बस्नेतले अध्यक्ष केपी शर्मा ओलीको आलोचना नगर्ने, राजीनामा नमाग्ने, पुनःगठनको कार्यसूचीका आधारमा विशेष महाधिवेशन नडाक्ने र वर्तमान सरकारका काम कारबाहीबारे छलफल गर्न राष्ट्रिय प्रतिनिधि परिषद् बोलाउन सकिने विषय प्रतिवेदनमा थप्नुपर्ने बताए। उनले नेतृत्वको कार्यकाल, उमेर हदजस्ता विषयमा विधानमा गरिनुपर्ने संशोधनबारे नियमित विधान महाधिवेशनमा छलफल गर्ने र कार्यदललाई प्रदेशस्तरमा प्राप्त सुझावलाई प्रतिवेदनको अङ्गका रुपमा राख्ने विषयमा पनि कुराकानी भएको बताए ।

उनले एमालेभित्रको बदलिँदो मनोविज्ञान र परिस्थिति तथा पार्टीलाई एकताबद्ध बनाएर लान खुला ढङ्गले छलफल गरेर साझा प्रतिवेदन सचिवालयको बैठकमा पेस गरिने बताए । उनले पार्टीभित्र नेतृत्व पुनःगठनको विषय प्रतिवेदनमा नआउने स्पष्ट गरे ।

गत फागुन २१ गतेको निर्वाचनमा पार्टीको पराजय लगायतको समीक्षा गरेर पार्टी र जनताको सम्बन्ध सुधारका लागि आवश्यक रूपान्तरण र पुनःगठनका लागि सुझाव दिन गठित कार्यदलले प्रदेशस्तरमा पुगेर सुझाव सङ्कलन गरेको थियो । बल्थलीमा भएको बैठकले पार्टीका उपाध्यक्ष एवं कार्यदलका संयोजक रामबहादुर थापा, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शङ्कर पोखरेललाई एकीकृत प्रतिवेदन ल्याउन जिम्मेवारी दिएको थियो ।

कार्यदलका लागि महासचिव पोखरेलबाट तयार गरिएको प्रतिवेदनमा पार्टीका उपाध्यक्ष एवं संयोजक थापाकै फरक प्रतिवेदन तयार भएपछि विवाद उत्पन्न भएको थियो । गत जेठ १० गते सम्पन्न एमालेको सचिवालयको आठौँ बैठकले उपाध्यक्ष थापाको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो । गत जेठ २६ गते पार्टीका अध्यक्ष ओलीको उपस्थितिमा भएको कार्यदलको पहिलो बैठकले प्रदेशगत रूपमा सुझाव लिने कार्यतालिका बनाएको थियो । एमालेको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक यही असोज ५, ६ र ७ गतेका लागि तोकिएको छ ।