गृहपृष्ठ चांगानको एसयूभी नेभो क्यू ०५ पोखरामा सार्वजनिक
चांगानको एसयूभी नेभो क्यू ०५ पोखरामा सार्वजनिक
पोखरा । चांगानको नयाँ विद्युतीय एसयूभी नेभो क्यू०५ पोखरामा सार्वजनिक गरिएको छ । एमएडब्लू वृद्धि अटोकर्पले शुक्रबार पोखरामा आयोजित कार्यक्रममा यसको अल्ट्रा भेरियन्ट सार्वजनिक गरेको हो । कम्पनीले यसको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।
नेभो क्यू०५ को चारदिने टेस्ट ड्राइभ कार्यक्रम चाउथेस्थित दिपल पोखरा सोरुममा ३ देखि ६ असोजसम्म सञ्चालन हुनेछ । ग्राहकले उक्त अवधिमा गाडीको प्रत्यक्ष अनुभव लिन सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार क्यू०५ मा १२० किलोवाटको विद्युतीय मोटर छ । यसले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ८.१ सेकेन्डमा लिन सक्छ । डब्लूएलटीपी परीक्षणअनुसार यसको रेन्ज ४०५ किलोमिटर छ भने ऊर्जा खपत १२.९ किलोवाट आवर प्रतिकिलोमिटर रहेको छ ।
गाडीमा क्याटलको ब्याट्री सेलसहित ‘गोल्डेन सिल्ड ब्याट्री २.०’ प्रविधि प्रयोग गरिएको छ । ३ सी फास्ट चार्जिङमार्फत उपयुक्त अवस्थामा ३० देखि ८० प्रतिशतसम्म ब्याट्री करिब १५ मिनेटमा चार्ज गर्न सकिने कम्पनीको दाबी छ ।
क्यू०५ मा १४.६ इन्चको टचस्क्रिन, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो तथा भेरियन्टअनुसार ड्राइभर असिस्टेन्स प्रणाली उपलब्ध छन् । गाडीको ह्विलबेस २ हजार ७३५ मिलिमिटर र बुट क्षमता ५४० लिटर रहेको कम्पनीले जनाएको छ ।
प्रकाशित समय : १२:४१ बजे


















