गृहपृष्ठ नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण एक्स्पो भृकुटीमण्डपमा सुरु

नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण एक्स्पो भृकुटीमण्डपमा सुरु

नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण एक्स्पो भृकुटीमण्डपमा सुरु

काठमाडौं । ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने नारासहित ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण एक्स्पो–२०८३’ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ।

नेपाल चेम्बर अफ कमर्सको ७५औँ हीरक वर्षका अवसरमा नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघको आयोजना तथा नेपाल चेम्बर अफ कमर्सको सह–आयोजनामा एक्स्पो सुरु भएको हो। चार दिनसम्म चल्ने एक्स्पोको उद्घाटन प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले गरे।

उद्घाटन कार्यक्रममा सभामुख अर्यालले जग्गा तथा आवास क्षेत्रका व्यवसायीका समस्या समाधानका लागि आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाए । जग्गाको हदबन्दीलगायत समस्या समाधानका लागि सरकार प्रयासरत रहेको बताउँदै ठूला व्यवसायीसँगै साना व्यवसायी र दूरदराजका नागरिकका समस्या पनि सम्बोधन गर्नुपर्नेमा जोड दिए ।न

विदेशमा रहेका नेपालीलाई स्वदेशमा लगानी गर्ने वातावरण बनाउन तथा युवा पुस्तालाई नेपालमै अवसर सिर्जना गर्न सबै पक्षले काम गर्नुपर्ने उनको भनाइ थियो।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले घरजग्गा क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण आधार भएकाले यस क्षेत्रलाई चलायमान बनाउनुपर्ने बताए। उनरेले गैरआवासीय नेपाली तथा विदेशीलाई अपार्टमेन्ट बिक्री गर्न सक्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरे।

नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष इन्जिनियर दीपक कुँवरले जग्गाको हदबन्दी र कित्ताकाटको समस्या दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने बताए। उनले बाढीबाट विस्थापित नागरिकको पुनर्वास तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा रियल इस्टेट व्यवसायी सरकारसँग सहकार्य गर्न तयार रहेको बताए।

त्यस्तै, नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले दर्तावाल रियल इस्टेट कम्पनीलाई जग्गाको हदबन्दी छुट, लोन टु भ्यालु रेसियो ८० प्रतिशत पुर्‍याउनुपर्ने, तीन करोड रुपैयाँसम्मको घरजग्गा खरिदमा स्वघोषित आम्दानीको स्रोतलाई मान्यता दिनुपर्ने लगायतका नीतिगत माग अघि सारे।

आयोजना तथा तयारी समितिका संयोजक रोशन भोयध्योका अनुसार एक्स्पोमा १०० भन्दा बढी स्टल रहेका छन्। एक्स्पो अवधिभर वास्तुशास्त्र, विपद् उत्थानशील पूर्वाधार, बाढीपीडितको पुनर्वास तथा सार्वजनिक–निजी साझेदारीमार्फत एकीकृत आवास विकासलगायत विषयमा प्राविधिक सेमिनार तथा प्यानल छलफल हुनेछन्।

एक्स्पो असोज १ देखि ४ गतेसम्म बिहान १० बजेदेखि साँझ ६ बजेसम्म भृकुटीमण्डपमा सञ्चालन हुनेछ।

प्रकाशित समय : १६:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु