गृहपृष्ठ विपद् व्यवस्थापनका लागि नेपालमै ड्रोन उत्पादन गर्ने तयारी : मन्त्री पुन
विपद् व्यवस्थापनका लागि नेपालमै ड्रोन उत्पादन गर्ने तयारी : मन्त्री पुन
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विपद् प्रभावित क्षेत्रमा मन्त्रालयले राहत व्यवस्थापनदेखि डीएनए परीक्षण, वैज्ञानिक प्रयोगशालाको पुनस्र्थापना तथा पूर्वचेतावनी प्रणाली विकाससम्मका काम गरिरहेको बताएका छन् ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथिको छलफलका क्रममा मन्त्री पुनले विदेशबाट प्राप्त राहत सामग्री बुझ्ने र सम्बन्धित क्षेत्रमा पुर्याउने काम भइरहेको जानकारी दिए । उनका अनुसार राहत सामग्री बोकेका जहाजबाट दैनिक दुई–तीन ट्रिपसम्म सामग्री आइरहेको छ ।
मन्त्री पुनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मन्त्रालयका राष्ट्रसेवक कर्मचारीले तलबबाट योगदान गरिरहेको पनि बताए । उनका अनुसार श्रेणीविहीन कर्मचारीबाट दुई दिन, राजपत्र अनंकित वा सोसरहका कर्मचारीबाट पाँच दिन, राजपत्रांकित तृतीय र द्वितीय श्रेणी वा सोसरहका कर्मचारीबाट सात दिन तथा राजपत्रांकित प्रथम र विशिष्ट श्रेणीका कर्मचारीबाट १० दिन बराबरको तलब योगदान गर्ने निर्णय भएको छ ।
विपद्पछि बेपत्ता तथा मृतकको पहिचानका लागि डीएनए परीक्षणको काम राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानबाट भइरहेको उनले बताए । नास्टमा दैनिक करिब ४० देखि ५० वटा नमुनाको परीक्षण भइरहेको र यसमा नेपाली तथा चिनियाँ प्राविधिक टोली संलग्न रहेको उनको भनाइ छ ।
राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा हालसम्म मृतकका १ हजार ५६२ वटा डीएनए परीक्षणका नमुना प्राप्त भएको मन्त्री पुनले जानकारी दिए । त्यस्तै, बुटवलमा बेपत्ता व्यक्तिका आफन्तबाट डीएनए नमुना संकलन तथा परीक्षणका लागि ९८ जनाको प्रक्रिया अघि बढाइएको उनले बताए ।
डीएनए परीक्षणमा सहयोग गर्न भारतबाट नौ जना विशेषज्ञ आएको र चीनबाट १५ जनाको टोली खटिएको पनि मन्त्री पुनले जानकारी दिए । चिनियाँ टोलीले नास्ट तथा राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा नेपाली प्राविधिकसँग मिलेर काम गरिरहेको उनले बताए ।
त्यस्तै, नास्टबाट साना सौर्य बत्ती एसेम्बल गरी विभिन्न स्थानमा पठाउने काम पनि भइरहेको मन्त्री पुनले बताए ।
आगामी दिनमा वैज्ञानिक प्रयोगशाला तथा मापन केन्द्रहरूको मर्मतसम्भार, पुनस्र्थापना र आवश्यक सहयोगलाई प्राथमिकता दिने योजना रहेको उनले बताए । विपद् आएपछि केही समय मात्रै सक्रिय हुने र पछि पूर्वाधार तथा तयारी बिर्सने प्रवृत्ति अन्त्य गर्दै प्रयोगशाला तथा मापन केन्द्रलाई नियमित रूपमा सञ्चालनयोग्य अवस्थामा राख्ने योजना रहेको उनको भनाइ छ ।
मन्त्री पुनका अनुसार कृत्रिम बुद्धिमत्ता (एआई) तथा भू–उपग्रह प्रविधिमा आधारित पूर्वचेतावनी प्रणाली विकास गर्ने तयारीसमेत भइरहेको छ । विपद्को अवस्थाबारे वास्तविक समयमै पूर्वानुमान तथा निगरानी गर्न सकिने ‘सिचुएसन रुम’ स्थापना गर्ने विषयमा पनि छलफल भइरहेको उनले बताए ।
विपद् व्यवस्थापनमा ड्रोन तथा रोबोटिक्सको उपयोगिता देखिएको भन्दै मन्त्री पुनले भविष्यमा नेपालमै ड्रोन उत्पादन गर्ने सम्भावनाबारे पनि काम अघि बढाइने बताए । हाल चीन र संयुक्त अरब इमिरेट्स (यूएई)बाट ८० देखि १०० किलोग्रामसम्म भार बोक्न सक्ने ड्रोन सहयोगका रूपमा प्राप्त भएको उनले जानकारी दिए ।
त्यस्ता ड्रोन खरिद गर्दा महँगो पर्ने भएकाले दीर्घकालीन रूपमा नेपालमै उत्पादन गर्न सकिने सम्भावनाबारे मन्त्रालयले काम गर्ने उनको भनाइ छ । मन्त्री पुनले हिमताल विस्फोट, पहिरो तथा भूकम्प मापनलगायतका विषयमा अनुसन्धानलाई थप प्रभावकारी बनाउँदै त्यसको व्यावहारिक प्रयोगका लागि तयारी अवस्थामा लैजाने काम पनि भइरहेको बताए ।
प्रकाशित समय : १३:२४ बजे


















