गृहपृष्ठ प्रभु बैंकद्वारा देशभर रक्तदान कार्यक्रम सम्पन्न
प्रभु बैंकद्वारा देशभर रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं- देशभर आएको प्राकृतिक प्रकोप तथा बाढीपहिरोका कारण प्रभावित भई उपचाररत घाइतेहरूलाई सहयोग पुऱ्याउने उद्देश्यले प्रभु बैंक लिमिटेडले देशभर एकैसाथ रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत बैंकले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा २०८३ भदौ ३० गते देशका सातै प्रदेशमा रक्तदान कार्यक्रम सञ्चालन गरेको हो।
बैंकले केन्द्रीय कार्यालय बबरमहलका साथै सातै प्रदेशमा रहेका ८ वटा प्रमुख शाखा कार्यालयहरूबाट एकै समयमा रक्तदान कार्यक्रम सञ्चालन गरेको जनाएको छ। उक्त रक्तदान कार्यक्रममा सातै प्रदेशका सहभागीहरूबाट कुल ३२१ पिन्ट रगत संकलन भएको बैंकले जनाएको छ।
विपद् राहत तथा उद्धारमा निरन्तर सहयोग
यसअघि पनि विनाशकारी बाढीपहिरोका कारण प्रभावित एवम् घरबारविहीन भएका परिवारहरूलाई राहत पुऱ्याउन प्रभु बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल २ करोड ११ लाख ११ हजार १११ सहयोग प्रदान गरिसकेको छ। यसका अतिरिक्त बैंकका सञ्चालक तथा कर्मचारीहरूले स्वेच्छिक रूपमा संकलन गरेको ४० लाख ८० हजार ५० रकम पनि उक्त कोषमा हस्तान्तरण गरिएको थियो।
त्यसैगरी, बाढीपीडित परिवारका लागि थप राहत स्वरूप बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १०० थान टेन्ट र १०० थान स्लीपिङ ब्याग जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई हस्तान्तरण गरिसकेको छ।
प्राकृतिक विपद्मा परी ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बैंकले बेपत्ता नागरिकहरूको शीघ्र उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
साथै, प्रभावित सम्पूर्ण समुदायप्रति गहिरो संवेदना व्यक्त गर्दै प्रभु बैंकले विपद्को यस कठिन घडीमा राहत, उद्धार र पुनर्स्थापनाका प्रयासहरूमा आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रकाशित समय : ११:३६ बजे


















