गृहपृष्ठ उपभोक्तालाई सहुलियत हुनेगरी बजार व्यवस्थापन गर्न सांसदहरूको माग
उपभोक्तालाई सहुलियत हुनेगरी बजार व्यवस्थापन गर्न सांसदहरूको माग
काठमाडौँ । प्रतिनिधिसभाको आजको विशेष समयमा सांसदहरूले किसानले उत्पादनको उचित मूल्य नपाउने र उपभोक्ताले त्यही वस्तु महँगोमा खरिद गर्े अवस्थाको अन्त्य गर्न सरकारसँग माग गरेका छन् ।
सांसद सुशीला ढकाल आचार्यले किसानले उत्पादनको उचित मूल्य नपाउने तर उपभोक्ताले महँगोमा वस्तु खरिद गर्नुपर्ने अवस्था अन्त्य गर्न बजारमा हुने कृत्रिम मूल्यवृद्धि नियन्त्रणका लागि सरकारले प्रभावकारी पहल गर्नुपर्ने बताए ।
यसैगरी, सांसद गणेश कार्कीले सांसदको गरिमा पहिरनबाट नभई कामबाट स्थापित हुने बताए । मुलुकको भविष्य परिवर्तन गर्ने जिम्मेवारी पाएका सांसद आफैँ पनि परिवर्तन हुनुपर्ने उनको भनाइ छ ।
सांसद राधिका रम्तेलले विपद्को जोखिममा रहेका नागरिकलाई सुरक्षित बनाउन दीर्घकालीन डुबान नियन्त्रणका काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराए । उनले विगतमा वीरेन्द्रनगरमा भएको डुबानको घटना पुनःदोहोरिन नदिन आवश्यक पूर्वतयारी गर्नुपर्ने बताए ।
सांसद प्रभा कार्कीले खाना पकाउने एलपी ग्यासको अभावका कारण उपभोक्ता मारमा परेको भन्दै आपूर्ति सहज बनाउन सरकार गम्भीर हुनुपर्ने बताए।
सांसद बसुमाया तामाङले भोटेकोशी बाढीबाट धेरै नागरिक घरबारविहीन भएको उल्लेख गर्दै वृद्धवृद्धा तथा बालबालिका बढी प्रभावित भएको बताए । प्रभावितको सुरक्षित पुनःस्थापना तथा पुनर्वासका लागि विशेष पहल गर्न सरकारसँग उनले आग्रह गर्े ।
सांसद डा आनन्दबहादुर चन्दले कृत्रिम बौद्धिकता (एआई) का विषयमा नेपालमा पर्याप्त अनुसन्धान हुन नसकेको बताउँदै यसलाई प्राथमिकतामा राखेर अनुसन्धान अघि बढाउनुपर्नेमा जोड दिए । विश्वविद्यालयमा एआईसम्बन्धी विषयको अध्ययन अध्यापनको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।
सांसद गोविन्द पन्थीले भोटेकोशी बाढीमा बेपत्ता भएका व्यक्तिको शव फेला नपरेका कारण प्रमाणको अभावमा मृत्यु घोषणा गर्न नसक्दा पीडित परिवारले विभिन्न समस्या भोग्नुपर्ने अवस्था आउनसक्ने बताए ।
सांसद बुद्धिप्रसाद पन्थले स्थानीय तहमा भ्रष्टाचार बढ्दै गएको भन्दै आर्थिक समस्या समाधानसँगै पारदर्शिता र जवाफदेहिता कायम गर्न आवश्यक रहेको बताए।
सांसद ललिताकुमारीले वातावरणमैत्री पूर्वाधार विकासमा जोड दिए । मधेसमा जलवायु परिवर्तनका असर दैनिक जनजीवनमै देखिन थालेको उल्लेख गर्दै विकास निर्माणका कामलाई वातावरणमैत्री बनाउन सरकारको ध्यानाकर्षण गराए ।
सांसद सोम शर्माले जेन्जी आन्दोलनमा संलग्न व्यक्तिहरूलाई तत्काल रिहा गर्न माग गरे ।
प्रकाशित समय : १८:२० बजे


















