गृहपृष्ठ राजविराजमा अस्पतालबाहिर प्रसूति घटनाको छानबिन हुँदैछ :मन्त्री मेहता

राजविराजमा अस्पतालबाहिर प्रसूति घटनाको छानबिन हुँदैछ :मन्त्री मेहता

राजविराजमा अस्पतालबाहिर प्रसूति घटनाको छानबिन हुँदैछ :मन्त्री मेहता

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरबाहिर प्रसूति भएको घटनाको छानबिन भइरहेको र दोषी देखिए कानुनबमोजिम कारबाही गरिने बताएकी छिन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरुले शून्य र आकस्मिक समयमा उठाएको प्रश्नको जवाफ दिँदै उनले घटनाबारे अस्पतालसँग २४ घण्टे स्पष्टीकरण माग गरिएको र स्पष्टीकरण प्राप्त भइसकेको जानकारी दिइन।

घटनाको स्थलगत छानबिनका लागि नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा.सुप्रभात श्रेष्ठ र एथिकल कमिटीका डा.अजय शाहसहित पाँच सदस्यीय टोली राजविराज पुगिसकेको तथा स्वास्थ्य सेवा विभागका उपचारात्मक सेवा महाशाखा प्रमुख डा.पवनजंग रायमाझी पनि टोलीमा रहनुभएको उनले बताइन् । जिल्ला प्रशासन कार्यालय,सप्तरीले पनि छानबिन समिति गठन गरेको छ।

उनले सेवाग्राही अस्पताल परिसरबाहिर पुग्ने अवस्था किन सिर्जना भयो र अस्पतालको सेवामा कुनै कमीकमजोरी थियो वा थिएन भन्ने विषय छानबिनबाट स्पष्ट हुने बताइन् । घटनाका समयमा ड्युटीमा रहेका कर्मचारीलाई कामकाजबाट हटाई थप छानबिन सुरु गरिएको पनि उनले जानकारी दिइन् ।

सरकारले आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रममार्फत सरकारी स्वास्थ्य संस्थामा प्रसूति सेवा निःशुल्क उपलब्ध गराउनुका साथै प्रसूति सेवाका लागि आउने – जाने यातायात खर्चसमेत उपलब्ध गराउँदै आएको उनले बताए ।

सरकारी स्वास्थ्य संस्थामा प्रसूति सेवा निःशुल्क हुँदाहुँदै शुल्क मागिएमा वा गर्भवती महिलालाई सेवा दिन अस्वीकार गरिएमा प्रचलित कानुनबमोजिम कारबाही हुने उनले स्पष्ट पारे ।

मन्त्री मेहताले सुरक्षित मातृत्व हरेक आमाको अधिकार भएको उल्लेख गर्दै कुनै पनि आमा स्वास्थ्य संस्थाको ढोकाबाहिर प्रसव गर्नुपर्ने अवस्था आउन नहुने बताइन् ।

प्रकाशित समय : १५:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु