गृहपृष्ठ राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग
राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग
नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाको भूभागमा पर्ने सिधनियाघाटस्थित राप्ती नदीमा निर्माणाधीन पुललाई विस्तार गरी नदीको पूरै बहाव क्षेत्र समेट्नुपर्ने स्थानीयको माग छ । निर्माणाधीन ७०० मिटर लामो पुललाई थप ४४० मिटरमा विस्तार गर्न सके बाढी, डुबान तथा कटानको जोखिम न्यूनीकरणसँगै आवागमनमा समेत थप सहजता हुने स्थानीयको भनाइ छ ।
“पुल निर्माण भइरहेको छ, अब बाँकी भागमा पनि विस्तार गरेर नदीको पूरै बहाव क्षेत्रलाई समेट्ने गरी काम अघि बढाउन सके अझ प्रभावकारी हुने थियो”, राप्तीसोनारी–६ का वडाध्यक्ष लवराज खरेलले भन्े । उनका अनुसार सिधनियाघाटमा ७०० लामो र ११ मिटर चौडाइको नयाँ पक्की पुल निर्माण भइरहेको छ । पुरानो ३५० मिटर लामो एक लेनको पुल सञ्चालनमा रहेकै अवस्थामा सरकारले थप फराकिलो र लामो पुल निर्माण सुरु गरेको उनको भनाइ छ ।
नयाँ पुल निर्माणले यस क्षेत्रको आवागमन तथा पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने स्थानीयको भनाइ छ । राप्तीसोनारी–६ का स्थानीय प्रदीपकुमार पौडेलले सुरुमा तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार पुलको लम्बाइ एक हजार १४० मिटर आवश्यक देखिएकाले सोही अनुसार योजना बनाइएको बताए । अहिले ७०० मिटरको पुल निर्माण भइरहेकामा ४४० मिटर भागमा पनि विस्तार गर्न सके स्थानीयको दीर्घकालीन आवश्यकता सम्बोधन हुने उनको भनाइ छ ।
स्थानीय कबीर बुढाथोकीले राप्ती नदीको बहाव सिधनियाघाट क्षेत्रमा घुमेर पुनः पूर्वतर्फ जाने भएकाले वर्षायाममा नदीको बहावका कारण खेतीयोग्य जमिनमा कटान तथा डुबान हुने गरेको बताउनुभयो । निर्माणाधीन पुललाई थप विस्तार गर्न सके नदी व्यवस्थापनमा पनि सहयोग पुग्ने उनको भनाइ छ ।
राप्तीसोनारी–६ की वडासदस्य लक्ष्मी थारुले निर्माणाधीन पुलसँगै नदी व्यवस्थापनका लागि प्रस्तावित संरचनालाई स्थानीय आवश्यकता र भूगोलअनुसार अघि बढाउन आग्रह गरे । उनले बगर क्षेत्रमा स्थानीय किसानले फलफूललगायत विभिन्न खेती गर्दै आएका उल्लेख गर्दै विकास निर्माण गर्दा कृषि क्षेत्रको संरक्षणलाई ध्यान दिनुपर्ने बताए ।
वडाध्यक्ष खरेलले सरकारले निर्माण गरिरहेको पुलले यस क्षेत्रको यातायात पूर्वाधारमा महत्वपूर्ण सुधार ल्याउने बताउँदै बाँकी भागमा समेत संरचना विस्तार गर्न सके बाढी तथा डुबानको जोखिम घटाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । “विसं २०७० र विसं २०७४ मा आएको बाढीले यहाँ ठूलो क्षति गरेको थियो । अहिले सरकारले पुल निर्माण गरिरहेको छ । बाँकी भागमा समेत विस्तार गर्न सके स्थानीयलाई थप सुरक्षित बनाउन तथा नदी कटान न्यूनीकरण गर्न सकिन्छ”, उनले भने।
डुडुवा गाउँपालिका–५ का वडाध्यक्ष झङ्कबहादुर थापाले पनि निर्माणाधीन पुललाई आवश्यकताअनुसार थप विस्तार गर्न आग्रह गरे । उनले पुल निर्माणसँगै नदी व्यवस्थापनका कामलाई प्रभावकारी रूपमा अघि बढाउन सके स्थानीयलाई दीर्घकालीन लाभ पुग्ने बताए।
लुम्बिनी प्रदेशकी पूर्वमन्त्री कृष्णा केसीले सरकारले अघि बढाएको पुल निर्माणलाई थप प्रभावकारी बनाउन स्थानीयको मागअनुसार बाँकी भागमा समेत पुलसंरचना विस्तार गर्नुपर्ने धारणा राखे । उनले आफूले २०७४ सालदेखि नै यस क्षेत्रमा पुल निर्माणको विषयमा पहल गर्दै आएको उल्लेख गर्े ।
“सरकारले अहिले ७०० मिटर लामो पुल निर्माण गरिरहेको छ । स्थानीयको मागअनुसार बाँकी ४४० मिटर थप गर्न सके यस क्षेत्रका जनताको दीर्घकालीन आवश्यकता पूरा हुन्छ”, पूर्वमन्त्री केसीले भने । उनका अनुसार बाँकी भागमा तटबन्ध ९रिभर ट्रेनिङ० निर्माणका लागि करिब १५ करोड आवश्यक पर्ने देखिन्छ । सोही हाराहारीको स्रोत परिचालन गरेर बाँकी भागमा पुल निर्माण गर्न सके स्थानीयको मागसमेत सम्बोधन हुने उनको भनाइ छ ।
हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यालय नेपालगञ्जका आयोजना प्रमुख लीलाबहादुर भण्डारीले स्थानीय नागरिक र जनप्रतिनिधिले पुलको क्षेत्र थप गरी निर्माण गर्ने विषय उठाउँदै आएपछि सम्बन्धित सबै पक्षसँग छलफल गरिएको बताए । उनले हाल निर्माणाधीन पुल कार्यालयको जिम्मेवारीमा रहेको भन्दै यसको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । उनका अनुसार भौतिक प्रगति ७५ प्रतिशत र वित्तीय प्रगति ७४ दशमलव ८९ प्रतिशत पुगेको छ ।
पश्चिमतर्फ दुई वटा स्ल्याब निर्माण गर्न बाँकी रहेका भन्दै उक्त क्षेत्रमा अहिले पानीको बहाव बढी रहेकाले पानीको बहाव कम भएपछि करिब दुईदेखि तीन महिनामा निर्माण सम्पन्न हुने उनले जानकारी दिए । “सरकारले तोकिएको जिम्मेवारीअनुसार पुल निर्माण तीव्र रूपमा अघि बढाइरहेको छ । स्थानीय नागरिक तथा जनप्रतिनिधिले बाँकी भागमा समेत विस्तारको माग राख्ेका छन । उनिहरूको माग र सुझावलाई सम्बन्धित माथिल्लो तहमा पठाउनेछौँ”, आयोजना प्रमुख भण्डारीले भन्े ।
उनले विगतमा ३५० मिटरको साँघुरो पुलबाट आवागमन हुँदै आएकामा अहिले ७०० मिटर लामो र ११ मिटर चौडाइको नयाँ पुल निर्माण भइरहेको जानकारी दिए । प्राविधिक रूपमा ७०० मिटरको पुल पर्याप्त भए पनि स्थानीयस्तरबाट थप संरचनाको आवश्यकता औँल्याइएकाले सामाजिक पक्षलाई समेत सम्बोधन गर्दै अघि बढ्नुपर्ने उनको भनाइ छ ।
“विकास निर्माणका हरेक काममा स्थानीय जनताको अपनत्व आवश्यक हुन्छ । स्थानीय नागरिक, जनप्रतिनिधि तथा सरोकार भएका निकायका प्रतिनिधिले उठाएका विषयलाई माथिल्लो तहमा पठाउनेछौँ”, आयोजना प्रमुख भण्डारीले भन्े।
हाल निर्माणाधीन ७०० मिटर लामो पुल लुम्बिनी–रौताहा वन्दना भगवती जेभी कन्स्ट्रक्सन प्रालिले निर्माण गरिरहेको छ । भ्याटसहित एक अर्ब १९ करोडमा २०७९ माघ ४ गते ठेक्का सम्झौता भएको उक्त पुल विसं २०८४ असार ४ गते सम्पन्न गर्नुपर्ने समयसीमा तोकिएको कार्यालयले जनाएको छ । आयोजनाअन्तर्गत उक्त पुलबाहेक नेपालगञ्जतर्फ एक हजार मिटर र बघौडातर्फ ४८० मिटर पहुँच सडक निर्माण हुने आयोजना प्रमुख भण्डारीले जानकारी दिए ।
त्यसैगरी नेपालगञ्जतर्फ पुलको उत्तरमा ८०० मिटर र दक्षिणमा ३०० मिटर तथा बघौडातर्फ पुलको उत्तरमा दुई हजार ८० मिटर र दक्षिणमा ९७० मिटर रिभर ट्रेनिङ (तटबन्ध) निर्माण गरिनेछ । पूर्वतर्फको सडकमा ४८० मिटर लामो तटबन्ध निर्माण गर्ने योजना रहेको कार्यालयले जनाएको छ ।
सिधनियाघाटमा आयोजित छलफलमा पुल तथा तटबन्ध निर्माणसँग सम्बन्धित विषयमा आयोजना कार्यालय, निर्माण व्यवसायी, स्थानीय सरोकार भएका निकाय, स्थानीय तहका जनप्रतिनिधि, प्रदेशसभा सदस्य तथा सञ्चारकर्मीबीच छलफल भएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य मीना श्रेष्ठ, डुडुवा–४ का वडाध्यक्ष सगीर खाँ तथा स्थानीय कर्ण मल्ल, लालबहादुर थापा, रामप्रताम मिश्रलगायतले निर्माणाधीन पुललाई आवश्यकताअनुसार थप विस्तार गर्नुपर्नेमा जोड दिएको थिए ।
सिधनियाघाटमा २०६२ सालमा निर्माण गरिएको ३५० मिटर लामो एक लेनको पक्की पुल सञ्चालनमा छ । सोही स्थानमा अहिले सरकारले ७०० मिटर लामो र ११ मिटर चौडाइको अर्को पुल निर्माण गरिरहेको छ । निर्माणाधीन पुलले यस क्षेत्रको आवागमनलाई थप सहज बनाउने अपेक्षा गरिएको छ । स्थानीयले भने नदीको पूरै बहाव क्षेत्र समेट्ने गरी थप ४४० मिटरमा पनि संरचना विस्तार गरेमा बाढी, डुबान तथा कटानको जोखिम न्यूनीकरणसँगै यस क्षेत्रको पूर्वाधार विकासले थप गति लिने बताएका छन् ।
प्रकाशित समय : १८:०७ बजे


















