गृहपृष्ठ जलवायु परिवर्तनको असमान भार नेपालले थेग्न सक्दैनः सभामुख अर्याल

जलवायु परिवर्तनको असमान भार नेपालले थेग्न सक्दैनः सभामुख अर्याल

जलवायु परिवर्तनको असमान भार नेपालले थेग्न सक्दैनः सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले जलवायु परिवर्तनमा नेपालको योगदान नगण्य भए पनि त्यसको गम्भीर असर नेपाली नागरिकले भोग्नुपरिरहेको बताएका छन ।

दक्षिण एसिया वन्यजन्तु कानुन कार्यान्वयन सञ्जालको प्रथम महासभालाई आज ललितपुरमा सम्बोधन गर्दै सभामुख अर्यालले यही भदौ १० गतेको रसुवागढी बाढीमा हजारौँ नागरिकले ज्यान गुमाएका, हजारौँ बेपत्ता भएका र हजारौँ नागरिक घरबारविहीन भएका उल्लेख गर्दै विपत्तिका कारण अर्बौँको सम्पत्ति नष्ट हुनाका साथै ठूलो सङ्ख्यामा वन्यजन्तुमा समेत असर परेको बताए ।

“यो महाविपत्तिको मूल कारण हामी नेपाली नभई विश्वव्यापी जलवायु परिवर्तन हो भन्ने कुरामा दुईमत छैन । विपत्तिमा ज्यान गुमाएका ती निर्दोष नागरिक कुनै पनि रूपमा कारक थिएनन्”, उनले भने, “आफ्नो कुनै गल्ती नभए पनि जलवायु परिवर्तनको असर खेप्न बाध्य नागरिकप्रति विश्व समुदाय गम्भीर बन्नुपर्छ । जलवायु न्यायका विषयमा ती समुदायले गम्भीरतापूर्वक चिन्तन गर्नुपर्ने समय आएको छ ।”

सभामुख अर्यालले जलवायु परिवर्तनको असमान भार थेग्न अब नेपाल बाध्य हुन नसक्ने भएकाले नेपाली नागरिकले जलवायु न्याय पाउनु अत्यावश्यक भएकामा जोड दिए । यो अवैध वन्यजन्तु व्यापार वन तथा वन्यजन्तु संरक्षणसँग मात्र सम्बन्धित विषय नभई प्राकृतिक सम्पदा, कानुनको शासन, सार्वजनिक संस्था, अर्थतन्त्र र स्थानीय समुदायको जीविकोपार्जनसँग समेत जोडिएको उनले बताए।

वन्यजन्तु अपराध नियन्त्रणका लागि बलियो कानुनसँगै सक्षम संस्था, पर्याप्त स्रोतसाधन, दक्ष जनशक्ति तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको सभामुख अर्यालले बताए । अपराधको स्वरूप र प्रविधि परिवर्तन हुँदै गएकाले कानुनी तथा संस्थागत संयन्त्रलाई पनि समयानुकूल सुदृढ बनाउनुपर्नेमा उनले जोड दिए ।

अपराधले राष्ट्रिय सीमा पार गर्ने भएकाले क्षेत्रीय सहकार्य अझ महत्वपूर्ण हुने उल्लेख गर्दै सभामुख अर्यालले सदस्य राष्ट्रका अनुसन्धान तथा अभियोजन निकायबीच सूचना आदानप्रदान, प्रत्यक्ष सम्पर्क र विश्वासको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । उनले दक्षिण एसिया प्राकृतिक सम्पदा र जैविक विविधताले सम्पन्न क्षेत्र भएकाले यसको संरक्षण साझा जिम्मेवारी भएको बताए ।

सभामुख अर्यालले महासभाबाट हुने निर्णयले सदस्य राष्ट्रबीचको सहकार्यलाई थप सुदृढ बनाउनाका साथै राष्ट्रिय संस्थाको क्षमता अभिवृद्धि र वन्यजन्तुको प्रभावकारी संरक्षणमा योगदान पुयाउनुपर्ने बताए । प्राकृतिक सम्पदा भावी पुस्ताका लागि संरक्षण गर्ने जिम्मेवारी सबैको भएको उल्लेख गर्दै उहाँले महासभाको सार्थक छलफल र महत्वपूर्ण उपलब्धिका लागि शुभकामनासमेत दिए ।

प्रकाशित समय : १८:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु