गृहपृष्ठ भोटेकोशी बाढीबारे अर्थ समितिमा छलफल, पूर्वसूचना प्रणालीदेखि पुनर्निर्माणसम्मका विषयमा प्रश्न

भोटेकोशी बाढीबारे अर्थ समितिमा छलफल, पूर्वसूचना प्रणालीदेखि पुनर्निर्माणसम्मका विषयमा प्रश्न

भोटेकोशी बाढीबारे अर्थ समितिमा छलफल, पूर्वसूचना प्रणालीदेखि पुनर्निर्माणसम्मका विषयमा प्रश्न

काठमाडौं । अर्थ समितिले रसुवामा आएको बाढीपछि नेपाल सरकारबाट हालसम्म भएका उद्धार, राहत वितरण तथा पुनःस्थापनाका कामबारे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए)सँग छलफल गरेको छ ।

समितिले विपद्बाट समग्र अर्थतन्त्रमा परेको प्रभावबारे अर्थ मन्त्रालयसँग तथा विपद्पछिको क्षति र प्रभाव मूल्यांकनबारे राष्ट्रिय योजना आयोगसँग पनि छलफल गरेको हो ।

छलफलमा एनडीआरआरएमएका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि विद्यमान कानुनी र संस्थागत संरचनामा सुधार आवश्यक रहेको बताए । उनले पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन ‘सबैका लागि पूर्वसूचना’ सम्बन्धी रोडम्याप तयार गरिएको जानकारी दिए ।

उनका अनुसार संयुक्त राष्ट्रसंघको आह्वानअनुसार नेपाल ‘सबैका लागि पूर्वसूचना’ कार्यक्रमका लागि छनोट भएको थियो । त्यसैअनुसार तयार गरिएको रोडम्यापलाई यथाशीघ्र स्वीकृत गरी कार्यान्वयनमा लैजाने तयारी भइरहेको उनले बताए ।

उप्रेतीले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ लाई पुनरावलोकन गर्नुपर्ने आवश्यकता औंल्याए । प्राधिकरण गठन भए पनि ऐनमा रहेका केही प्रावधानले प्रभावकारी रूपमा काम गर्न अवरोध सिर्जना गरिरहेको भन्दै उनले कानुनी ‘बोटलनेक’ पहिचान गरी संशोधन गर्न समितिलाई आग्रह गरे ।

‘विपद् कोषमा रकम भए पनि त्यसको प्रयोग गर्दा समस्या आउने अवस्था छ । कोषलाई सहज रूपमा परिचालन गर्न सकिने व्यवस्था आवश्यक छ,’ उनले भने ।

उनले विपद् व्यवस्थापनका क्रममा उठेका करिब ७५ देखि ८० वटा प्रश्न गम्भीर र सान्दर्भिक रहेको बताए । स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय थप प्रभावकारी बनाउन आफूले प्रत्यक्ष रूपमा स्थानीय तहसँग सम्पर्क गरिरहेको पनि उनले जानकारी दिए ।

उप्रेतीले अस्थायी आवासका लागि हाल उपलब्ध गराइँदै आएको २५ हजार रुपैयाँ पहिलो किस्ता र २५ हजार रुपैयाँ दोस्रो किस्तासहित ५० हजार रुपैयाँ तथा स्थायी पुनर्निर्माणका लागि प्रतिघर चार लाख रुपैयाँ दिने व्यवस्थामा पुनरावलोकन आवश्यक हुनसक्ने बताए ।

त्यसका लागि सम्बन्धित नीति, कानुन तथा विपद् कोषसम्बन्धी कार्यविधिमा समेत संशोधन आवश्यक रहेको उनको भनाइ थियो । रसुवा क्षेत्रमा सञ्चालन भइरहेका खोज तथा उद्धारका कामबारे जानकारी दिँदै उप्रेतीले कुनै पनि सुरुङमा उद्धार तथा खोजी कार्य नरोकिएको स्पष्ट पारे ।

उनका अनुसार नेपाली सेनालाई विशेषगरी खोज तथा उद्धारमा केन्द्रित गरिएको छ । सुरुङभित्र फसेका हुनसक्ने व्यक्तिको अवस्थाबारे विद्युत् प्राधिकरण, ऊर्जा तथा जलस्रोत मन्त्रालयलगायत सम्बन्धित निकायबाट तथ्यांक संकलन गरिएको र त्यसैका आधारमा उद्धार अभियान सञ्चालन भइरहेको उनले बताए ।

उप्रेतीले सुरुङमा फसेका हुनसक्ने १२१ जनासम्बन्धी विवरणबारे पनि जानकारी दिइएको बताए । नेपाली सेनाले दुई दिनअघि विपद् प्राधिकरणको हलमा ब्रिफिङ गरी विभिन्न सुरुङमा भइरहेको प्रगति, सेना पुगेको स्थान तथा विदेशी विज्ञ टोलीसँगको समन्वयबारे जानकारी गराएको उनले बताए ।

राहत वितरणमा केही कमी–कमजोरी देखिए पनि सूचना प्राप्त हुनासाथ त्यसलाई सम्बोधन गर्ने प्रयास भइरहेको उप्रेतीले बताए । प्रभावित क्षेत्रको वास्तविक अवस्था बुझ्न आफू स्वयं फिल्डमा जाने तयारीमा रहेको उनले जानकारी दिए ।

उप्रेतीले जलवायु परिवर्तनका कारण नेपालमा विपद्को जोखिम बढ्दै गएको भन्दै अन्तरदेशीय पूर्वसूचना प्रणालीलाई बलियो बनाउनुपर्नेमा जोड दिए । छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विदुषी राणाले विपद्को अवस्थामा एकअर्कालाई दोष दिनुभन्दा समन्वय र सहकार्यबाट अघि बढ्नुपर्ने बताइन् ।

उनले सम्पर्कविहीन रहेका व्यक्तिको खोजी अभियानको अवस्थाबारे प्रश्न गर्दै खोजी कार्य कुन चरणमा पुगेको जानकारी मागिन् । साथै त्रिशूली–३ ‘ए’ लगायत जलविद्युत् आयोजनामा खोजी कार्य कुन आधारमा रोकिएको हो भन्नेबारे पनि प्राधिकरणसँग स्पष्टता मागिन् ।

सीमा नजिकको सेन्सर बिग्रिएपछि मात्रै खतरा सूचना प्राप्त भएको र नेपाल–चीनबीच वास्तविक समयको तथ्यांक आदानप्रदान प्रभावकारी नभएको भन्ने सार्वजनिक विवरणप्रति पनि उनले प्रश्न उठाइन् । पूर्वसूचना प्रणालीमा देखिएको कमजोरी सुधार गर्न प्राधिकरणसँग ठोस योजना, समयसीमा र बजेट के छ भन्ने उनले सोधिन् ।

होल्डिङ सेन्टरमा आउने ठूलो संख्याका मानिसमध्ये महिला तथा बालबालिका जोखिममा पर्नसक्ने भन्दै राणाले उनीहरूको सुरक्षा र व्यवस्थापनका लागि छुट्टै व्यवस्था गर्नुपर्ने बताइन् ।

प्रकाशित समय : १४:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु