गृहपृष्ठ सिटिजन्स बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि २ करोड २२ लाख सहयोग
सिटिजन्स बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि २ करोड २२ लाख सहयोग
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि २ करोड २२ लाख २२ हजार २ सय २२ रुपैयाँ सहयोग गरेको छ।
बैंकले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरेको हो। बागमती प्रदेशको भोटेकोशी नदीमा २०८३ भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई राहत पुर्याउने उद्देश्यले सहयोग गरिएको बैंकले जनाएको छ।
बाढीमा परी ज्यान गुमाएका परिवारप्रति बैंकले हार्दिक समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
अर्थ मन्त्रालय, सिंहदरबारमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष प्रबलजंग पाण्डेले सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्। कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य दिग्विजय विष्ट र प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलको पनि उपस्थिति थियो।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ। बैंकका अनुसार स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै सामुदायिक विद्यालय, वृद्धाश्रम र अनाथालयलाई समेत आर्थिक सहयोग प्रदान गर्दै आएको छ।
यसैबीच, भीषण बाढीका कारण बैंकको देवीघाट शाखा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। बाढी प्रभावितलाई तत्काल राहत पुर्याउने उद्देश्यले बैंकले नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटमा खाद्यान्न सामग्रीसमेत वितरण गरेको जनाएको छ।
बैंकले चामल, दाल, पिठो, बिस्कुट, तेल, नुन, सोयाबिन, आलु, चाउचाउलगायतका सामग्री सहयोग गरेको हो।
बैंकले विश्वकै प्रतिष्ठित ‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ को उपाधि प्राप्त गर्न सफल भएको जनाएको छ। यसअघि फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ नामक भर्चुअल क्रेडिट कार्डसमेत सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।
सिटिजन्स बैंकका अनुसार देशभर ६१ जिल्लामा २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ६० हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
बैंकले आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मानवीय तथा सामाजिक सेवाका कार्यलाई निरन्तरता दिने जनाएको छ।
प्रकाशित समय : ०९:४२ बजे


















